पाँचथर,: नेपाल प्रेस युनियन पाँचथरको ३४औं स्थापना दिवसको अवसरमा सक्रिय पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ।
गोरखापत्र दैनिककी पाँचथर संवाददाता राधा लुइटेलले “स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार” र इमेज टेलिभिजनका जितेन्द्र भण्डारीले “स्वर्गीय लोकमन बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कार” प्राप्त गरेका हुन्। दुवै पत्रकारले नगद दश हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन्।
यसै अवसरमा प्रेस युनियनले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको लागि सामूहिक दुर्घटना बीमा गरेको छ। युनियनका अध्यक्ष खबिन लुइटेलले यो कदमले पत्रकारहरूको सुरक्षामा योगदान पुग्ने बताए।
स्थापना दिवसको कार्यक्रम फिदिम-४ स्थित जागृति आवासीय विद्यालयमा आयोजना गरिएको थियो। युनियनले विद्यालयका ५१ जना आवासीय विद्यार्थीहरूसँग सामूहिक भोजन गरेर मनाएको छ। साथै, विद्यालयलाई एक थान फिल्टर र विद्यार्थीहरूका लागि स्टेशनरी सामग्री पनि उपलब्ध गराइएको छ।




