25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठकोसी सरकारको कुल खर्च ८१ प्रतिशत, ११४ किलोमिटर कालोपत्रे सडक निर्माण

कोसी सरकारको कुल खर्च ८१ प्रतिशत, ११४ किलोमिटर कालोपत्रे सडक निर्माण


विराटनगर । कोसी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको विनियोजित बजेटमध्ये ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीका अनुसार, यो खर्च प्रतिशतका आधारमा संघीय सरकारको खर्च क्षमताभन्दा धेरै हो । सरकारले राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशत वृद्धि गरेको छ

पूर्वाधार क्षेत्रतर्फ एक वर्षमा कोसी सरकारले ११४ किलोमिटर सडक कालोपत्रे गरेको छ । यस्तै, ५२ किलोमिटर नयाँ ट्र्याक खोलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सडक ग्राभेल १५२ किलोमिटर गरिएको छ, १८ वटा पक्की पुल र १६ वटा झोलुंगे पुल निर्माण भएका छन् । साथै, एक दर्जनभन्दा बढी प्रहरी कार्यालय भवन निर्माण तथा मर्मत कार्य सम्पन्न भएको बताइएको छ ।

- Advertisement -

पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार मान्दै प्रदेश सरकारले केही दीर्घकालीन योजना अघि सारेको छ । स्विस सरकार र स्थानीय तहको सहकार्यमा दुई अर्ब ३५ करोडको लागतमा ४६८ किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको र यसअन्तर्गत मुन्दुम ट्रेल, चियाबारी, लालीगुराँस र फाल्गुनन्द पदमार्ग निर्माण हुनेछन् । यो परियोजना २०८५ सालभित्र सम्पन्न हुने लक्ष्य रहेको छ । यस वर्षलाई ‘पर्यटन वर्ष’ घोषणा गर्दै भारतीय पर्यटकलाई सहज प्रवेशका लागि नाकामा स्टिकर प्रणाली लागु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले नागरिक सेवामा सुधारका लागि बर्सौंदेखि लाइसेन्स पास गरेर पनि कार्ड नपाउने समस्या अन्त्य गर्दै अब कर तिरेपछि तुरुन्तै अस्थायी लाइसेन्स दिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् ।

‘आयोजना बैंक’को सुरुवातलाई सकारात्मक कदमको रूपमा लिइएको मन्त्री भण्डारीले बताए । बैंकमा हाल ५० हजारभन्दा बढी आयोजना दर्ता भएका छन् ।

‘‘उद्यमशीलता प्रवर्द्धन गर्न ‘उदय परियोजना’मार्फत ३० लाखदेखि ३ करोड रुपैयाँसम्मको बिनाधितो ऋण प्रदान गर्ने तथा बैंकको ब्याज प्रदेश सरकारले बेहोर्ने कार्यक्रमसमेत ल्याइएको छ,’’ उनले भने ।

प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल भएको उनले दाबी गरे । सम्मेलनमा एक खर्ब ५२ अर्ब रुपैयाँ बराबरका परियोजना लगानीका लागि आकर्षित हुने चरणमा रहेको मन्त्री भण्डारीले बताए । उद्योग क्षेत्रमा लगानी प्रोत्साहन गर्न जग्गा दर्तामा ७५ प्रतिशत छुट दिने नीति ल्याइएको छ, जसले उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक वातावरण बनाएको उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताएका छन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments