20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकारागारमा रहेका रेशम चौधरीले आज सपथ लिने

कारागारमा रहेका रेशम चौधरीले आज सपथ लिने

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम ३ बजेलाई सारिएको छ।

‘संसद बैठकको समय भइसकेको र डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई ल्याउन ढिला भएकाले सपथ ३ बजे सारिएको’ सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले जनाएको छ। उनको सपथ बिहान साढे ११ बजे गर्ने पूर्व तयारी थियो।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो। सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको उनीमाथि अभियोग थियो।

टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो। २४ जना अहिले पनि धनगढी कारागारमा छन्।

- Advertisement -

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्। राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।

राजपाले चौधरीलाई सपथ गराउन सात दिनको अल्टिमेटम दिएको थियो। राजपाले दिएको समयसीमा (पुस १७) को दुई दिनपछि उनलाई सपथ खुवाउन लागिएको हो।

फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।

स्रोत: अन्नपूर्ण पोस्टबाट

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments