कैलाली। सुदूरपश्चिम प्रदेशका स्थानीय पालिकाका कर्मचारीहरू स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक पारित गराउन दबाब दिने उद्देश्यले कर्मचारीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
वैशाख २८ गतेदेखि सुरु भएको आन्दोलनअन्तर्गत आइतबार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीहरू धर्नामा बसेका छन्। स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालका अनुसार बिहान ९ बजेदेखि १२ बजेसम्म एक सुत्रीय मागसहित मुख्यमन्त्री कार्यालयको प्रवेशद्वारमा धर्ना दिइएको छ।
सुदूरपश्चिमका सबै ८८ स्थानीय पालिकाका कर्मचारीहरू यस आन्दोलनमा सहभागी हुन धनगढी आइपुगेका छन्। कर्मचारीहरूका अनुसार, प्रदेश सरकारले स्थानीय सेवा ऐन नल्याउँदा उनीहरूले लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नुपरेको छ। ऐन नभएकै कारण विभिन्न किसिमका हस्तक्षेप र समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
आन्दोलित कर्मचारीहरूले बताए अनुसार, पटक-पटक आग्रह गर्दा पनि ऐन नल्याइएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो। स्थानीय सेवा ऐन नहुँदा काम गर्न गाह्रो भएको र त्यसैकारण अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर सडक आन्दोलनमा आउनुपरेको उनीहरूको भनाइ छ।
कर्मचारीहरूले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।




