काठमाडौं — राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको स्पष्ट पारे।
“आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौं,” थापाले भने, “हामी देशको समृद्धि र प्रगति चाहन्छौं, राष्ट्रियता बलियो बनाउन चाहन्छौं, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।”
उनले ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि आफ्नो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गरिएकोमा आपत्ति समेत प्रकट गरे।
“सरकार हाम्रो जायज माग र आन्दोलनप्रति गम्भीर होस् भन्ने चाहना छ,” थापाले भने, “दमन गर्नतर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुन्छ।”
अध्यक्ष थापाले जेठ १५ गतेको तयारीमा जुट्न र बढीभन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशिल हुन कार्यकर्तालाई निर्देशन दिए।

थापाले यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागिता जरुरी रहेको बताए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत गरे।




