काठमाडौँ — आगामी दिनमा आयोजना हुने सगरमाथा संवादमा ३५० जना सहभागी रहने परराष्ट्रमन्त्री डा. राणाले जानकारी दिएकी छन्।
परराष्ट्रमन्त्री राणाका अनुसार संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहनेछ। संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको पनि उनले बताइन्।
संवादको तयारी अन्तिम चरणमा पुगेको र तयारीस्वरूप सरकारले करिब १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरिसकेको छ। जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन्।
तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। परराष्ट्रमन्त्री राणाले पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिनेछ।
कार्यक्रममा चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्नेछन्।
‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुने यस संवादमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको परराष्ट्रमन्त्री राणाले बताइन्।




