25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishभद्रकाली माविले जित्यो छात्रा टि-२० क्रिकेटको उपाधि

भद्रकाली माविले जित्यो छात्रा टि-२० क्रिकेटको उपाधि

पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि-२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले हात पारेको छ। 

पोखरा महानगरपालिका क्रिकेट संघद्वारा आयोजित यस प्रतियोगिताको फाइनलमा शुक्रबार लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा भद्रकालीले वाराही माविलाई १४ रनले पराजित गर्दै ट्रफी उचालेको हो। उत्कृष्ट प्रदर्शनका बावजुद वाराही मावि उपविजेतामा सीमित रह्यो। विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।  

बिहीबार भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भद्रकालीले २० ओभरमा ५ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल बनायो। भद्रकालीकी रिया तामाङले विस्फोटक ब्याटिङ गर्दै ८० बलमा १२४ रनको शतकीय पारी खेलिन्। यस्तै, रिसा तामाङले २४ बलमा २४ रन जोडिन्। 

२२७ रनको लक्ष्य पछ्याएको वाराहीले ४ विकेट गुमाउँदै २१२ रनमात्र बनाउन सक्यो। वाराहीका लागि सुस्मिता श्रेष्ठले ७२ बलमा ६४ रन, सफलता भुजेलले ४७ बलमा २९ रन र मेघा खड्गीले १७ बलमा २६ रन बनाए पनि जितका लागि पर्याप्त भएन। भद्रकालीकी आसु गुरुङले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिँदै वाराहीको लक्ष्य भेट्ने प्रयासलाई रोकेकी थिइन्।  

- Advertisement -

फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ भद्रकालीकी रिया तामाङ घोषित भइन्। उनले ‘प्लेयर अफ दी सिरिज’ र ‘बेस्ट ब्याटर’को उपाधि पनि जितिन्। यस्तै, वाराहीकी सुस्मा पौडेल ‘बेस्ट बलर’ चुनिइन्। उनीहरूलाई ट्रफी र मेडल प्रदान गरियो।

पुरस्कार वितरण समारोहमा पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, पूर्व राष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, म्याच अफिसियल प्रदीप तामाङलगायतले विजेताहरूलाई पुरस्कृत गरे।  

यसैबीच, पोखरा महानगर क्रिकेट संघले प्रतियोगिताबाट उत्कृष्ट ३६ खेलाडी छनोट गरिने जनाएको छ। ती खेलाडीलाई तीन टिममा विभाजन गरी सुपर लिग खेलाइने र उत्कृष्ट खेलाडी छनोट गरेर पोखरा महानगरपालिकाको टिम गठन गरिने अध्यक्ष पुनले बताए। ‘त्यसपछि देशभरका महानगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीलाई अवसर प्रदान गरिनेछ,’ उनले भने।

प्रकाशित: २९ चैत्र २०८१ १९:३३ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments