काठमाडौं । नाइजरको पश्चिमी तिलाबेरी क्षेत्रमा सोमबार भएको बारुद विस्फोटमा सुन खानीमा कार्यरत ८ जना मजदुरको मृत्यु भएको छ। स्थानीय स्रोतहरूका अनुसार, सैन्य सुरक्षाका बीच यात्रा गरिरहेका मजदुरहरूको सवारी साधन बारुदमा परेर विस्फोट भएको हो।
स्थानीय बासिन्दा अमदौ अरूना माईगाले भने, “मिनिबस चढेका मजदुरहरूको सवारी विस्फोटमा पुग्यो। आठ जनाको तत्काल निधन भयो।” घटनाको एक दिनपछि आइतबार मृतकहरूको अन्त्येष्टि गरिएको छ। तर, अन्तर्राष्ट्रिय मिडिया ल’एन्केत्यरले १० भन्दा बढीको मृत्यु रिपोर्ट गरेको छ।
जोखिमयुक्त क्षेत्र, तर सुन खानी जारी
घटना भएको तिलाबेरी क्षेत्र इस्लामिक स्टेट (IS) र अल-कायदासँग जोडिएका सशस्त्र समूहहरूको गतिविधिको लागि चर्चित छ। नाइजर सरकारले २,००० भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरे पनि हिंसा नियन्त्रण हुन सकेको छैन।
यहाँ सञ्चालित समिरा सुन खानी देशको एकमात्र औद्योगिक स्तरको खानी हो, जुन फ्रान्सेली कम्पनी एसएमएल ले संचालन गर्छ। यसअघि मे २०२३ मा यस्तै विस्फोटमा ७ सुरक्षाकर्मी मारिएका थिए भने जुन २०२१ मा दुई चिनियाँ कर्मचारी अपहरण भएका थिए।
सैनिक सरकारले गरेको थियो निरीक्षण
सन् २०२३ मा सत्ता सम्हालेका सैनिक नेता जनरल अब्दुरहमान तियानीले यसअघि समिरा खानीको निरीक्षण गरी सुरक्षा अवस्था जाँच गरेका थिए। तर, पश्चिम नाइजरमा आतंकी गतिविधि र दक्षिण-पूर्वमा बोको हराम को सक्रियताले देशभर सुरक्षा चुनौती बनीरहेको छ।




