काठमाडौं – प्रतिनिधि सभाको आइतबारको बैठकमा आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति कडा आलोचना गरेका छन्। उनले यसलाई “डाइबिटिजका बिरामीलाई मिठाई खुवाएजस्तै” भएको बताउँदै भ्रष्टाचारीहरूलाई समर्थन गर्ने खालको नीति भएको आरोप लगाए।
संसदीय बहसका क्रममा साहले उच्च पदमा रहेकाहरूले भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति थुपार्ने प्रवृत्ति रोक्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्नेमा उल्टै त्यस्ता गतिविधिलाई प्रोत्साहन मिल्ने खालको आएको बताए।
“लुट र भ्रष्टाचारको पैसा रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम आउनुपर्थ्यो। तर दुर्भाग्य उल्टो आयो,” साहले भने।
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्सको विषयमा पनि प्रश्न उठाए। “विदेशमा नेपाली नागरिकले कमाएको पैसा परिवारको लागि हो कि भ्रष्टाचारीको लागि हो? वैधानिक तरिकाबाट पैसा पठाउँदा घट्ने र कालोधनसँग साट्दा बढेर गाउँमा आउने – के सरकारलाई थाहा छैन?” उनले प्रश्न गरे।
साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूले आर्जन गरेको सम्पत्तिको सदुपयोग हुने परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिँदै हालको नीति तथा कार्यक्रमप्रति विरोध जनाएका छन्।




