काठमाडौँ, — प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको विरोधले अस्थिर भएको छ। भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति नबनाए सदन चल्न नदिने विपक्षी दलहरूले चेतावनी दिएका छन्।
बैठक सुरु हुनासाथ नै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न अवसर दिए। पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोगको आरोप लगाउँदै उनले गृहमन्त्री रमेश लेखकको सचिवालय पनि यस प्रकरणमा संलग्न देखिएको बताए।
उनले भने, “गृहमन्त्रीज्यूको सचिवालय जोडिएको आरोप छ। उहाँले निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। यसका लागि उच्चस्तरीय छानबिन समिति बनाइनुपर्छ। त्यो नहुँदासम्म संसद चल्न सक्दैन।”
पुनको बक्तव्य पछि अन्य विपक्षी सांसदहरूले पनि समर्थन गर्दै उच्चस्तरीय छानबिन समितिको माग दोहोर्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र समिति नबनाए सदन चल्न नदिने धम्की दिए।
विपक्षी सांसदहरूको नाराबाजी बढ्दै जाँदा सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्। सरकारले यस मागलाई कसरी लिन्छ भन्नेबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।




