23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठहुवावेसँग विनोद चौधरीको सम्झौताले विश्वभर तरङ्ग, फोरजी सेवा विस्तारमा २५ अर्ब लगानी...

हुवावेसँग विनोद चौधरीको सम्झौताले विश्वभर तरङ्ग, फोरजी सेवा विस्तारमा २५ अर्ब लगानी गर्ने

काठमाडाैं, जुलाई ३ चौधरी समूहले चाइनाको हुवावे टेक्नोलोजीसँग फोरजी सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्तापक्षर गरेको छ।
अमेरिका र हुवावेबीच द्वन्द्व चर्किरहेको बेला चौधरी समूहले चिनियाँ कम्पनीसँग मिलेर नेपालमा २५ अर्ब लगानी गर्न लागेको विषयलाई विश्वभरका सञ्चारमाध्यमले प्रमुख महत्व दिँदै समाचार प्रशारण र प्रकाशन गरेका छन्।
चौधरी समूहले चाइनाको हुवावेसँग फोरजी फोन सेवा सञ्चालन गर्न एक सय मिलियन अमेरिकी डलर बराबर रकममा सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालमा देशभर फेरजी सेवा सजिलै उपलब्ध हुने दाबी चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टेलिग्राफसँग कुराकानी गर्दै चौधरीले भारतको मोबाइल क्षेत्रमा रिलायन्स इन्डष्ट्रीले हलचल ल्याएजस्तै नेपालको मोबाइल बजारमा फोरजी सेवामार्फत हलचल ल्याउने बताएका छन्। ‘हामीले नेपालमा दुई सय ५० मिलियन डलर खर्च गर्ने लक्ष्य राखेका छौं,’ अध्यक्ष चौधरीले भनेका छन्। उनका अनुसार फ्रि भ्वाइस सर्भिस दिइनेछ। चौधरीले विशेष ध्यान डाटा, अनलाइन पेमेन्ट र अन्य सुविधामा रहने जनाएका छन्।
फोरजी सेवा सञ्चालनका लागि हुवावेले एक सय मिलियन अमेरिकी डलर बराबरका सामग्री सप्लाई गर्नेछ, जुन पछि फाइभजीमा समेत अपग्रेड गर्न सकिनेछ।
चीनको म्यानुफ्याक्चरसँग मिलेर सिमेन्ट क्षेत्रमा सहकार्य गर्न खोजेको समेत जनाएका छन्। सीजीले पहिले नै नेपालमा ग्रामीण भेगमा लिमिटेड टेलिकम्युनिकेसन सञ्चालन गर्दै आएको छ। नेपालको टेलिकम बजारमा एक तिहाई हिस्सा अबको चार वर्षभित्र लिने दाबी उनले गरेका छन्।
हुवावेको प्रविधि विश्वभर फाइभजी उपकरणका लागि मुख्य प्रतिस्पर्धी हो। तर, अमेरिकाले हुवावेको प्रविधिले सुरक्षामा खतरा पुर्‍याउने भन्दै त्यसलाई बहिष्कार गर्न अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्दै आएको छ। चौधरी समूहले हुवावेसँग सम्झौतागरेसँगै विश्वभरी तरंग आएको छ।
नेपालको दूरसञ्चार क्षेत्रमा ५१ प्रतिशतको बजार सेयर लिएर हाल नेपाल टेलिकम अग्रस्थानमा छ। एनसेल र स्मार्ट सेल छन्। यसबीच चौधरीले नयाँ प्रविधि भित्र्याउन हुवावेसँगको सम्झौताले नयाँ तरंग आएको हो। भारतसँगै बिस्तारै एसियाभर नै आफ्नो चाउचाउ ब्रान्डको बिस्तार गरेको चौधरी समूहले अहिले बैंक दूरसञ्चार व्यवसाय, दर्जनौं रिसोर्ट जस्ता विभिन्न व्यवसायमा लगानी गरिरहेको छ।
साथै भारतको ताज ग्रुपसँगको साझेदारीमा माल्दिभ्समा दुई वटा रिसोर्ट सञ्चालन गरिरहेको छ। केही साता अगाडिमात्रै हुवावेसँग रुसले फाइभजी सेवा सुरू गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। अमेरिकाले हुवावेमाथि विभिन्न आरोप लगाउँदै प्रतिबन्ध लगाइरहेका बेला हुवावे भने सेवा तथा सुविधा विस्तारमा आक्रमक देखिएको छ!
साभार काठमाडौंप्रेस डटकम

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments