काठमाडौं — साउदी अरबको सेन्डन इन्टरनेशनल कम्पनी बन्द भएपछि ४६९ जना नेपाली कामदार अलपत्र परेको घटनाले चिन्ता बढाइरहेका बेला, प्रतिनिधिसभाका सांसद महेश बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै सांसद बर्तौलाले ती नेपाली कामदारहरू महिनौँदेखि तलब नपाएको, बसोबास र खानपानको अभावमा जीवन यापन गरिरहेको, र बहिर्गमन भिसा (Exit Visa) नपाएका कारण स्वदेश फर्कन नसकेको जानकारी गराए।
उनले यो समस्या तत्काल समाधान गर्न आग्रह गर्दै भने, “साउदीस्थित नेपाली दूतावासलाई तुरुन्तै सक्रिय बनाइयोस्, उद्धार प्रक्रिया यथाशीघ्र अघि बढाइयोस्।”
साउदीमा कार्यरत नेपालीहरूको हित र सुरक्षाका लागि सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको जोड थियो।
सामान्यतः खाडी मुलुकहरूमा कार्यरत नेपाली कामदारहरू यस्ता समस्यामा परिरहँदा राज्य संयन्त्रको सक्रियता र तत्परता नहुँदा अवस्था झनै विकराल हुने गरेको गुनासो छ।

सरकारले अझैसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन। तर सांसद बर्तौलाको आवाजपछि श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयले चाँडै कदम चाल्ने अपेक्षा गरिएको छ।
#NepaliWorkers #SaudiArabia #MaheshBartola #NRN #ForeignEmployment #LabourRights #NepalParliament




