19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishलुम्बिनी कप महिला फुटबल: आर्मीको शानदार विजयी सुरुवात

लुम्बिनी कप महिला फुटबल: आर्मीको शानदार विजयी सुरुवात

त्रिभुवन आर्मी क्लबले नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा सुदूरपश्चिमलाई ४–० ले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।  

नेपालगन्ज रङ्गशालामा शुक्रबार भएको उद्घाटन खेलमा आर्मीकी अनिता लम्जेलले ५औँ र ५३औँ मिनेटमा दुई गोल गरिन्। हिमा चौधरीले ५६औँ मिनेटमा र तुलसा बोहोराले ७८औँ मिनेटमा एक–एक गोल थपे। अनिता लम्जेल म्यान अफ दि म्याच घोषित भइन्। सुदूरपश्चिमकी सिता रोकाय र शृजना बरालले पहेँलो कार्ड पाए।  

नकआउट आधारमा खेलाइएको प्रतियोगितामा तीन विभागीय टोलीसहित बाँके–११, एपिएफ क्लब, नेपाल पुलिस क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घका कुल आठ टोली सहभागी छन्। अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा सञ्चालित प्रतियोगिता वैशाख १२ सम्म चल्नेछ।  

विजेता टोलीले ५ लाख ५ हजार ५५५ रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन्। प्रत्येक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगिताको विधागत उत्कृष्टलाई पुरस्कृत गरिनेछ।  

- Advertisement -

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरे। उनले लुम्बिनी कपले खेलाडीमा उत्साह थप्ने र राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘पश्चिम क्षेत्रमा सम्भावना बोकेका खेलाडी छन्, अवसर दिँदा उनीहरूले देश–विदेशमा पहिचान बनाउन सक्ने अवस्था छ,’ उनले भने। अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताले खेलाडीमा ऊर्जा थप्ने बताए।  

प्रकाशित: ५ वैशाख २०८२ २३:५१ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments