18.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img
HomeEnglishराजाको स्वागतमा शक्ति प्रदर्शन | Nagarik News

राजाको स्वागतमा शक्ति प्रदर्शन | Nagarik News

सरकार र राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टि बढ्दै गएका बेला राजतन्त्रवादीहरू त्यसको लाभ उठाउने प्रयासमा जुटेका छन्।

२०६५ साल जेठ १५ गते संविधानसभा बैठकले मुलुकमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो। त्यसको १५ वर्षपछि जनतामा छाएको निराशाको लाभ उठाउँदै राजावादीले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर आइतबार काठमाडौंमा प्रदर्शन गरे। केही समयदेखि पोखरामा रहेका ज्ञानेन्द्र काठमाडौं फर्कने क्रममा राजावादीले शक्ति प्रदर्शन गरेका हुन्।

यसअघि प्रमुख सहरहरूमा ज्ञानेन्द्रको पक्षमा जुलुस निकालेका उनीहरूले आइतबार दिउँसो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजाको स्वागतका नामा शक्ति प्रदर्शन गरे।

दिउँसो समिट एयरको विमानबाट काठमाडौं उत्रिएका ज्ञानेन्द्रलाई स्वागत गर्न पूर्वपञ्चहरूको भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र कार्यकर्ता, विभिन्न समूह तथा व्यक्तिहरू विमानस्थलको मुख्य गेटमा पुगेका थिए।

- Advertisement -

प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दल र नेताप्रति आक्रोशित देखिएका राजाका समर्थकहरू राष्ट्रिय झन्डासहित विमानस्थल गेटवरिपरि उपस्थित भएका थिए। उनीहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा पनि लगाएका थिए। विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले उनीहरूलाई अभिवादन गरेका थिए। समर्थकले उनलाई फूलमाला र खादाले स्वागत गरेका थिए।

पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए। केही समयअघि ज्ञानेन्द्रको विपक्षमा उभिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित राजतन्त्र र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएका विभिन्न समूह र व्यक्तिहरू पनि विमानस्थलको मुख्यद्वारवरिपरि भेला भएका थिए।

आफ्नो स्वार्थ पूरा गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर गरिएको प्रदर्शनले आइतबार विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो। ट्राफिक अस्तव्यस्त हुँदा सयौंले सास्ती सहनु प¥यो। प्रधानमन्त्री ओलीसहित सत्तारुढ दलका नेताहरूले राजतन्त्रका नाममा भएको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्। विपक्षी माओवादी केन्द्रले भने सरकारको अक्षमता र कुशासनका कारण प्रतिक्रियावादी सलबलाएको जनाउँदै आएको छ ।

प्रकाशित: २६ फाल्गुन २०८१ ०७:३९ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments