19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठरवि  लामिछानेविरुद्ध अभियोग पत्रको तयारी  « News of Nepal

रवि  लामिछानेविरुद्ध अभियोग पत्रको तयारी  « News of Nepal

वीरगन्ज। 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभियोगपत्र दर्ताको तयारी गरेको छ ।  सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अभियोगपत्र दर्ताको तयारी गरेको हो ।

 सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका चार हजार ८०० मानिसले आफ्नो बचत रकम फिर्ता नभएको भनी दिएको उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले लामिछानेसहित करीब ३५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । चितवनमा लामिछानेविरुद्ध उजुरी दर्ता भइसकेको र त्यहाँको प्रक्रिया सकिनासाथ जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिन आएको छ । 

लामिछानेविरुद्धको मुद्दामा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही दिनदेखि जिल्ला प्रहरी कार्यालयमा आएर सानो पाइलासम्बन्धी उजूरीलगायतका विषयमा अध्ययन गरिरहेको छ । अहिलेसम्म सानो पाइला बचत तथा ऋण सहकारीविरुद्ध वीरगंन्ज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र र थप अभियोगपत्र दर्ता गराइसकेका छन् ।

- Advertisement -

पछिल्लो मुद्दामा सानो पाइला सहकारीबाट ठगिएका १७९ जनाको जाहेरीमा सानो पाइलाका १३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो र त्यसमध्ये दुईजना पक्राउ परेर धरौटीमा रिहा भइसकेका छन् । हालसम्म परेका दुईवटा मुद्दामा रवि लामिछानेको नाम जोडिएको थिएन । पूर्वडिआइजी छविलाल जोशीको घरमा छापामारी गर्दा त्यहाँ लामिछानेविरुद्ध सानो पाइला सहकारी संस्थाबाट पनि रकम अपचलन भएको सबूत प्रमाण रहेको दाबी प्रहरीले गरेको छ ।

 सोही आधारमा तेस्रो तथा थप अभियोगपत्रमा लामिछानेको नामसमेत जोडी अभियोगपत्र दर्ता गर्ने पर्सा प्रहरीले तयारी गरेको छ । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले चितवनमा परेको उजुरी सम्बन्धमा छिनोफानो भएपछि पर्सा जिल्लामा लामिछानेविरुद्धको अभियोगपत्र दर्ता गर्ने तयारी रहेको जानकारी दिए । 

पहिलो अभियोजनमा साढे २४ करोड अपचलनको मुद्दा रहे पनि दोस्रो र तेस्रोमा यो रकम बढ्दै करीब एक अर्ब पुग्ने अनुमान गरिएको छ । लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख, रूपन्देही जिल्ला अदालतबाट ६० लाख र काठमाडौं जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका छन् भने अहिले उनीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।यस अघि लामिछानेलाई पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि बयानको लागि झिकाइएको थियो ।  सो मुद्दाको अभियोगपत्र दर्ता हुन भने बाँकी छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments