काठमाडौँ। पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमवार साँझ वार्ता हुँदैछ। मूल रूपमा मध्याह्न १२ बजे तय गरिएको वार्ता समय परिवर्तन गरी साँझ हुने भएको छ।
दुवै देशका सैन्य अपरेसन महानिर्देशकले वार्ताको नेतृत्व गर्नेछन्। शनिवार भएको कुराकानीमा पाकिस्तानी सैन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रस्ताव अघि सारेका थिए र दुवै देशले सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए।
तर सहमतिको केही घण्टाभित्रै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी) मा गोलीबारी तथा हवाई घुसपैठ गरेको भारतको आरोप छ। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको र यदि यस्ता गतिविधि दोहोरिए भने अझ कडा कारबाही हुनेछ भन्ने चेतावनी दिएका छन्।
भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो, जसमा २६ जनाको मृत्यु भएको थियो।




