
काठमाडौँ : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिकाबिहीन भएको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए।


‘संघीय कानुन नबन्दा, शिक्षा विधेयक नआउँदा अहिले १५ दिनदेखि देशभरका शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ,’ लामिछानेले भने, ‘प्रदेशको हकमा पनि संघले बनाइदिनुपर्ने कानुनहरु संघले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरु संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको छ। अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरु नभएको म सञ्चारमन्त्री। मैले बनाएको कानुन संघीय कानुनसँग जुध्छ।’

संघीय कानुनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शून्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको उनको भनाइ छ। संघ सरकारले छिटो भन्दा छिटो संघीय कानुन बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा लामिछानेको जोड छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





