पाँचथर,— याङवरक गाउँपालिका–५, दाहाल गाउँमा घरायसी विवादको कारण पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ। घटनामा ४० वर्षीया सम्झना भट्टराईलाई उनका श्रीमान कृष्ण लिङ्देनले गत वैशाख ३ गते बिहान कुटपिट गरेका थिए।
गम्भीर घाइते भएकी सम्झनालाई प्रारम्भिक उपचारको लागि फिदिम जिल्ला अस्पतालबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर, आइतबार राति उपचारकै क्रममा उनको निधन भयो।
प्रहरीले मृतकको शव धरान अस्पतालको शवगृहमा राखिएको बताएको छ। घटनापछि आरोपी कृष्ण लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई धरान इलाका प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
घरेलु हिंसा विरुद्ध कडा कारबाहीको माग
यस्तो निर्मम घटनाले समाजमा घरेलु हिंसा र महिला विरुद्ध बढ्दो क्रूरताको चिन्ता बढाएको छ। महिला अधिकारकर्मीहरूले यस्ता घटनामा कडा कानुनी कारबाही गर्न माग गर्दै सरकार र प्रहरीप्रति सचेत भएर काम गर्न आग्रह गरेका छन्।




