गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका हुन्। उनले केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले रोकिएको आरोप समेत लगाएका छन् । ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्,’ उनले लेखेका छन्, ‘कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!’
दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको बताउँदै उनले भनेका छन्, ‘तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन! दुस्मनहरूलाई एक मात्र जवाफ- दुस्मन हेरेको हेरै!’
उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको समेत दाबी गरेका छन्।

यस्तो छ उनको स्टाटस:
कहिलेकाहीँ जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे।
म दाङका प्रिय दर्शक भगवान्को दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ।
तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो।
मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो।
कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको ऊर्जा हो।
तर केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन।
यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्।
कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ।
उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।
हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!
तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!
मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।
मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु।
नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू,
हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु!
दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन्!
किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ,
जबसम्म मेरो लागि दर्शकहरूको माया छ
तबसम्म मलाई कसैले हल्लाउन सक्दैन!
दुस्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै!
त्यसैले “दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड “
प्रकाशित: २० फाल्गुन २०८१ १०:५६ मंगलबार




