26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishजुम्लामा मार्सी धानको बिउ भिजाउँदै मनाइयो ‘बारुवा पर्व’

जुम्लामा मार्सी धानको बिउ भिजाउँदै मनाइयो ‘बारुवा पर्व’

जुम्लामा मात्र उत्पादन हुने दुर्लभ प्रजातिको धान जुम्ली मार्सीको खेती मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

चैत १२ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने जुम्ली परम्पराअनुसार किसानहरूले मार्सी धानको बिउ भिजाएर बारुवा पर्व मनाएका छन्।

कृषि विकास कार्यालय, जुम्लाको आयोजनामा मार्सी धानको बीउ संरक्षण तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो। किसानहरूले बोरामा भिजाइएको बीउ चार दिनपछि निकालेर चैत २० मा ब्याडमा छर्ने परम्परा रहेको छ।

४० दिनमा बेर्ना तयार भएपछि असारदेखि रोपाइँ सुरु गरिन्छ। सामान्यतया रोपेको सात महिनामा पाक्ने मार्सी धान किसानले असोज अन्तिमदेखि कात्तिक पहिलो सातासम्म भित्र्याउने गर्छन्।

- Advertisement -

जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख गौरीन्द आचार्यले मार्सी धानको संरक्षण आवश्यक रहेको बताए। उनले धान खेतीमा विषादी प्रयोग नगर्नुपर्ने उल्लेख गर्दै भने, ‘मार्सी खेतीको परम्परा जोगाउन हरेक वर्ष यो दिवस मनाउनु आवश्यक छ।’

हराउँदै गएको मार्सी धानको चिन्ता

कृषि प्रणालीमा आएको परिवर्तन र पछिल्लो पुस्ताको चासो कमी हुँदै जाँदा जुम्ली मार्सी धानको उत्पादन घट्दो क्रममा छ।

कुनै समय ८० मुरीसम्म मार्सी खेती हुने खेतबारी अहिले ३० मुरी मै सिमित भएको किसानहरूको गुनासो छ।

सिँचाइ अभाव, नयाँ रोगकिराको प्रकोप तथा बजारको आकर्षणमा परेर स्थानीयहरू बाहिरी धानप्रति आकर्षित हुँदा परम्परागत मार्सी धान संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

तिला गाउँपालिकाकी पूर्व उपाध्यक्ष बिष्णु बुढा ले स्थानीय उत्पादनलाई उपभोग गर्ने बानी बसाल्नुपर्ने सुझाव दिइन्।

‘पहिचान जोगाउने चामल बेचेर बजारको सेतो चामल खाने प्रवृत्तिमा सुधार ल्याउन जरुरी छ,’ उनले भनिन्।

संरक्षणका प्रयास र ऐतिहासिक पृष्ठभूमि

संघीयता कार्यान्वयनसँगै जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिइने गरिएको छ। स्थानीय परम्पराअनुसार महिलाहरूले चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका देवी लगायत कुल देवतालाई सम्झेर धानको बिउ राख्ने चलन छ।

कृषि विकास कार्यालयका अनुसार जुम्लाका ८ वटै स्थानीय तहमा करिब २,८०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। विशेषगरी पातारासी गाउँपालिकाको छुमचौर, ज्युलो क्षेत्रमा मार्सी धान सबैभन्दा बढी उत्पादन हुन्छ।

मार्सी धानको ऐतिहासिक जरा

जुम्लामा उत्पादन हुने मार्सी धान संसारकै सर्वाधिक उचाइमा (२,८५० मिटर) फल्ने धान हो। इतिहासअनुसार वि.सं. १०९८ मा चन्दननाथ बाबाले लाछु ज्युलो, जुम्लामा मार्सी धानको बिउ रोपेका थिए। पछि १११२ सालदेखि काली मार्सी धान खेती विस्तार भएको मानिन्छ।

पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने गरिए पनि पछिल्लो समय तापक्रम वृद्धिका कारण असोज अन्तिम सातादेखि नै धान भित्र्याउने गरिन्छ।

बढ्दो माग, घट्दो उत्पादन

मार्सी धान विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग गरिन्छ। यसको स्वादिलो रातो भात र खिर को चर्चा देशविदेशमै छ। तर, उत्पादनमा गिरावट आउँदा बजारको माग पूरा हुन सकेको छैन।

हाल २ केजी मार्सी धानको मूल्य घरमै १४० रुपैयाँ पर्ने स्थानीय किसान बताउँछन्।

परम्परागत मान्यता अनुसार चैत १२ गते धानको बिउ राख्ने दिन घर बाहिर बसेको मान्छे फर्किनुपर्छ। स्थानीयहरूका अनुसार ‘चैताबारुवा घर आएन भने जुम्ली मर्यो भनी जान्नु’ भन्ने उखान दुई दशक अघिसम्म पनि प्रचलित थियो।

परम्परा जोगाउन जुम्लामा कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको छ, जसले मार्सी धानको संरक्षण र नयाँ ग्रेड विकास गरिरहेको छ। स्थानीयहरू भन्छन्, ‘मार्सी धानको महत्त्व दिनदिनै बढ्दै गए पनि यसको उत्पादन विस्तार हुन सकेको छैन।’

प्रकाशित: १२ चैत्र २०८१ २२:५२ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments