19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishचैत १५ : गणतन्त्रवादी भर्सेस राजावादी

चैत १५ : गणतन्त्रवादी भर्सेस राजावादी

चैत १५ गते अर्थात् भोलि सङ्घीय राजधानी काठमाडौंमा दुईवटा प्रदर्शन एकसाथ हुँदैछन्। एउटा, गणतन्त्रवादीहरूको र अर्को राजावादीहरूको।

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चारदलीय समाजवादी मोर्चाले गर्दैछ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ। 

पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन्। यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन। त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्।

तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन्। यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन्।

- Advertisement -

राजावादीहरूले स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन्। त्यसकै लागि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन्।

उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दैछन्। त्यहाँ पूर्वराजालाई नै सहभागी गराउन पाइयो भने माहोल अर्कै हुने सुवेदी-प्रसाईंहरूको बुझाइ छ। त्यसका लागि पूर्वराजासँग संवाद पनि भइसकेको बताइन्छ। तर, पूर्वराजा सहभागी हुने कि नहुने भन्नेबारे भने टुङ्गिएको छैन।

गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दैछन्। त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन्।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दैछन्।

यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ। त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ। प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो।

त्यसो त गणतन्त्रवादी र राजावादी आपसमा चेतावनीकै तहमा उत्रिएका छन्। गणतन्त्रवादीहरूले बाटो नछेक्न र बढी नचल्मलाउन चेतावनी दिएको छ भने राजावादीहरूले पनि ‘क्रिया भए प्रतिक्रिया पनि हुने’ बताएका छन्।

यो पनि पढ्नुहोस्

गणतन्त्रवादी र राजावादीलाई भेट हुन नदिने सरकारको रणनीति, राजतन्त्र पक्षधरले भेटे पूर्वराजालाई

प्रकाशित: १४ चैत्र २०८१ १७:१३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments