26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकसैले-कसैलाई चिच्याएर नसोधोस्, ‘कति कमायौ ?’ « Postpati – News For All

कसैले-कसैलाई चिच्याएर नसोधोस्, ‘कति कमायौ ?’ « Postpati – News For All


जब म सर्वोच्च शिखर चुमेर फर्किएँ,
उनीहरूले सोधे, ‘कति कमायौ?’

कविता लेखेँ, गीत गुनगुनाएँ,
भित्रैको भाका संसारसँग बाँडेँ,
तर प्रश्न फेरि उस्तै- ‘काम के गर्छौ?’
भकुण्डो खेलेँ, कराते, उसु, तेक्वान्दो खेलेँ
तर प्रश्न फेरि उस्तै- ‘कति कमायौ?’
समाज रुपान्तरण गर्न चेतना फैलाएँ
तर प्रश्न फेरि उस्तै— ‘राजनीति गरेर के पायौं?’
शब्दहरूसँगको मेरो सम्बन्ध,
खेलहरुसँगको मेरो मोह,
समाज रुपान्तरण गर्ने मेरो चाह,
उनीहरूका लागि, केवल बेरोजगारीको प्रमाणपत्र बन्यो।

किन हामीले उपलब्धिलाई
पैसाको तराजुमा तौल्न थाल्यौं?
किन ‘सपना’ हरायो,
र बाँकी रह्यो केवल ‘धनी देखिने’ आकांक्षा?

समाजले सिकायो
सफलता भनेको गाडी हो, बंगला हो, ब्राण्ड हो, पैसा हो।
त्यहि सोचमा हुर्किए प्रसाईंहरू,
लोन लि खा नतिर,

- Advertisement -

समाजले सिकायो
सफलता भनेको अमेरिका, अस्ट्रेलिया, जापान वा कोरिया जानू हो।
त्यही सोचमा हुर्किए कलिला युवा विद्यार्थीहरु,
र विवश छन् त्यहीँ भिडमा आफूलाई उभ्याउन,
जानीनजानी नोकरचाकर र दासको जिन्दगी जिउन बाध्य छन्,
समाजलाई खोक्रो सफलता देखाउँदै
कहालीलाग्दो जीवन बाँचिरहेछन्~

शब्दको अर्थ हरायो,
अनि सत्ता बन्यो धर्म,
जहाँ सेवा होइन, स्वार्थ बोल्छ,
शिक्षाले होइन, चाकडीले बढ्न थाल्यो उचाइ!

हामी आफ्ना सन्तानलाई भन्न सकिनौ,
‘जाउ~ त्यो गिटार समाऊ, कविता लेख, गेम खेल, समाज रुपान्तरण गर।’
किनभने हाम्रो डर ठूलो छ,
‘भविष्य के बन्छ?’

हामीले सपनाको उत्तराधिकारी होइन,
डरको वंशज बनायौं।

अब समय आएको छ!
कसैले-कसैलाई चिच्याएर नसोधोस्, ‘कति कमायौ?’
बरु शान्त स्वरमा सोधोस्, ‘कसरी कमायौ?’

किनभने,
अन्तिममा हामीसँग बाँकी रहने कुरा
बैंक ब्यालेन्स होइन,
हाम्रो नाम, विचार,
र हामीले पारेको प्रभाव हो।

अब सोच बदलौं।
सपना बेच्न होइन, जीवन बाँच्न सिकौं।


41