25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकटारी गोल्डकप: सहलेश सेमिफाइनलमा, टाइब्रेकरमा बागमती पराजित

कटारी गोल्डकप: सहलेश सेमिफाइनलमा, टाइब्रेकरमा बागमती पराजित

कटारीमा जारी ‘पाँचौँ मेयर गोल्डकप ०८१’ अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा सिराहाको सहलेश फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार कटारी बजारस्थित टाइगर खेलमैदानमा सम्पन्न खेलमा सहलेशले सर्लाहीको बागमती फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्यो।

खेलको सुरुआती १० मिनेटमै बागमतीका खेलाडीको आत्मघाती गोलका कारण सहलेशले १–० को अग्रता लियो। त्यसपछि दुवै टोलीले आक्रमण र प्रत्याक्रमणको रोमाञ्चक प्रदर्शन गरे।

खेलको अन्तिम समयमा बागमतीका अनिल पाचे मगरले गोल गर्दै स्कोर १–१ को बराबरीमा ल्याए। निर्धारित समय बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो।

- Advertisement -

टाइब्रेकरमा सहलेशले ५ गोल गर्दा बागमती ४ गोलमा सीमित भएपछि सहलेश अन्तिम चारमा प्रवेश गर्न सफल भयो। खेलको ‘म्यान अफ द म्याच’ सहलेशका गोलकिपर सागर मगर घोषित भए। उनलाई कटारी नगरपालिका–४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे।

सहलेशले बिहीबार हुने सेमिफाइनलमा वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। युनाइटेडले सिन्धुलीको जेएन क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा काठमाडौँको च्याम्पियन ब्वाइज क्लब र एनएस फुटबल क्लब धरान आमनेसामने हुनेछन्।

च्याम्पियन ब्वाइजले पाहुना टोली भुटानको समत्से क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको थियो भने धरानले उद्घाटन खेलमा घरेलु टोली कटारी–११ लाई हराएको थियो।

आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन १७ गते शनिबार हुनेछ। विजेता टोलीलाई नगद ३ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ। विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: १३ फाल्गुन २०८१ २१:१८ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments