
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएका छन्।
बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताए।


उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरू रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताए। आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल सुरु गरेको उनले बताए।

उनले भने, ‘आजैदेखि हामीले वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल सुरु गरेका छौँ। वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ। वैदेशिक रोजगारमा धेरै समस्याहरू देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ। संसदको आउँदो अधिवेशनमा संशोधनको लागि ऐन पेश गर्नेगरी तयारी गरिरहेका छौँ।’
वैदेशिक रोजगार व्यवसायीहरूले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ। वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उनले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताए। उनले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताए।
उनले भने, ‘तपाईंहरु संस्थागत हिसावले पार्ट अफ गभर्मेण्ट हो। श्रम मन्त्रालय व्यवसायी र श्रमिकहरू संस्थागत संगठनको शक्ति हो। त्यो नाताले तपाईंहरूले पनि इमानदारिपूर्वक आ—आफ्नो व्यवसायलाई अगाडि बढाउन सक्नुभयो भने सजिलो हुन्छ। सरकारले व्यवसाय गर्ने होइन सरकारले व्यवसायलाई सहजिकरण गर्ने हो। राजश्व आएर सरकार सञ्चालन हुन पाओस् र जनताले सुविधा पनि पाउन्। यो क्षेत्रमा उठेका तीन वटा कुरा मैले बारम्बार भन्ने गरेको छु।’
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरू भइरहेको मन्त्री भण्डारीको दाबी छ। उनले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





