23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishरोङका नमुना किसान अर्थात् ‘गुरु किसान’

रोङका नमुना किसान अर्थात् ‘गुरु किसान’

रोङ गाउँपालिका-५, इरौंटारमा बिहीबार फरक कार्यक्रम चलिरहेको थियो।

किसानको एउटा ठूलो समूह एकापट्टिको मञ्चमा लहरै थिए। मन्त्रीसहितका अतिथि चाहिँ दर्शक दीर्घामा। कार्यक्रम उद्घोषकले अतिथिलाई मञ्चमै बोलाइन्। अनि, मन्त्रीले छेवैमा बसेका व्यक्तिलाई सोधे– ‘हामी पनि मञ्चमै जाने हो ?’ 

‘हो’ भन्ने संकेत पाए पछिमात्र उनी पनि मञ्च चढे। बिहीबारै मन्त्रिपरिषद् बैठक थियो। तर, बैठकमा आफू नआउने सूचना गत सोमबार नै प्रधानमन्त्रीलाई दिएर रोङको कार्यक्रममा आएका थिए– सङ्घीय सरकारका कृषि, पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी।

‘गुरु किसान’ घोषणा र सम्मान गरिँदै। 

कार्यक्रममा उनी मात्रै थिएनन्– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकास मन्त्री खगेनसिंह लिम्बू पनि थिए। र, थिए अरू पनि विशिष्ट व्यक्तित्व।

- Advertisement -

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) उमेरले इलामका १० पालिकाका अध्यक्ष/प्रमुखमध्ये सबैभन्दा ‘कान्छा’ हुन्। उनकै अवधारणामा नयाँ–नयाँ काम गर्दै रोङ गाउँपालिका देशभर चर्चा कमाउँदै छ।

केही दिनअघि कोशी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रोङ गाउँपालिकाले गरिरहेका काममध्ये गुन्द्रुक ब्रान्डिङको चर्चा गरेका थिए। र, बिहीबारको कार्यक्रममा प्रधानमन्त्रीले कृषिमन्त्री अधिकारीमार्फत् रोङलाई कृषि क्षेत्रमा गरिरहेका कामका लागि ‘शुभकामना’ समेत पठाएका थिए।

जबाफमा गाउँपालिकाले प्रधानमन्त्रीलाई कृषिमन्त्रीमार्फत् नै ‘कोसेली’ पठायो– रोङकै ब्रान्डेड तितेकरेला, सिस्नो र गुन्द्रुक।

इरौंटारको बिहीबारको कार्यक्रम चाहिँ त्योभन्दा पनि फरक थियो–पालिकाका एक सय २१ जनालाई ‘गुरु किसान’ घोषणा गर्ने। र, उनीहरूलाई सम्मान पनि गर्ने।

कसैले किसान कस्तो हुनुपर्छ ? भन्ने प्रश्न गरे रोङले दिने ‘जवाफ’ थिए उनीहरू। अर्थात्, पालिकाका नमुना किसान। देश–विदेशलाई देखाउने नेपाली किसान।

पालिकाले ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी त्यसैअन्तर्गत पालिकाका नमुना किसानलाई ‘गुरु किसान’ का रूपमा उत्पादन गर्दैछ।

पालिकाको कार्यक्रमअन्तर्गत मन्त्री अधिकारीले एक सय २१ लाई ‘गुरु किसान’ घोषणा गरे। ‘गुरु किसान’ लेखिएका ब्याग दिए र पोसाक पनि लगाइदिए।

पालिकाले गरेको सम्मानमा किसान गद्गद् देखिए। उनीहरूले आफू असल किसान बन्ने प्रतिबद्धता पनि गरे।

पालिकाका अनुसार अब उनीहरूले अरू किसानलाई पनि सफल किसान बन्ने तरिका सिकाउने छन्। आफू उदाहरणीय किसान बन्नेछन्।

कार्यविधिमा तोकिएका मापदण्ड पूरा गरेपछिमात्र किसान ‘गुरु किसान’ सूचीमा दर्ज हुन पाउँछन्। गुरु किसानका लागि पालिकाले वर्षमा एकपटक वा आवश्यकताअनुसार सूचना जारी गर्छ।

जसले मापदण्ड पूरा गर्छ, उसले आवेदन दिन्छ। पालिकाले आवेदन अध्ययन गरी ‘गुरु किसान’ घोषणा गर्छ। जुन उत्पादनमा गुरु किसान हुने हो, कम्तीमा तीन वर्षदेखि त्यही खेतीमा किसान आबद्ध भएको हुनुपर्छ, वार्षिक आम्दानी, रोजगारी सिर्जना र सहकार्यलगायत दर्जनौँ मापदण्ड पार गर्नुपर्छ किसानले। 

‘रोङ विकासको मुख्य आधार: कृषि, वन र पर्यटनको पूर्वाधार हाम्रो पालिकाको नारा हो,’ अध्यक्ष मनीकुमार स्याङ्बो भन्छन्, ‘किसान आफैं सक्षम बनून्, सानातिना प्राविधिक काममा पनि सरकारको मुख ताक्न नपरोस् भनेर किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रम हो गुरु किसान।’

उनले कृषि उत्पादनको गुणस्तर वृद्धि, ब्रान्डिङ, व्यावसायिक कृषिका लागि यो अवधारणा ल्याएको सुनाए। ‘यही अवधारणामा अहिले रोङका किसान मौरी पालनमा सक्षम भएका छन्, त्यसैगरी यहाँको अलैंची, बेसार, तितेकरेला, गुन्द्रुकलगायत उत्पादनमा किसानलाई आफैं सक्षम बनाउन यो कार्यक्रमले सघाउँछ।’

उनले किसानलाई प्रविधि हस्तान्तरण र उत्पादनका लागि चाहिँ प्रदेश तथा सङ्घीय सरकारले सघाउनु आवश्यक रहेको बताए। सिँचाइमा पानीको पुनः प्रयोग, उत्पादकत्व वृद्धि र उत्पादनको गुणस्तरमा पनि यो कार्यक्रम प्रभावकारी भइरहेको सुनाए।

‘अब रोङले गफाडी किसान होइन, मेहनती किसान उत्पादन गर्छ, उनीहरूलाई मात्र सघाउँछ,’ अध्यक्ष स्याङ्बो भन्छन्, ‘गुरु किसानलाई के सहयोग गर्न सकिन्छ, पालिकाले कानुन बनाएरै सघाउँछ, सघाइरहेको छ।’

पालिका उपाध्यक्ष विष्णुमाया खवासले देशका स्थानीय तहमध्ये रोङले किसानका लागि नमुना कार्यक्रम ल्याएको बताए।

‘कृषिप्रधान देशले किसानको मर्म र भावना बुझ्न नसकेको अवस्थामा रोङले किसानलाई उनीहरूको मेहनतको सम्मान गरेको छ, यो कार्यक्रम उदाहरणीय छ,’ उनले भनिन्, ‘किसानले पसिना बगाउँदा कसैले सम्मान गरेको बुझिएन। किसानलाई अघि राख्दा हामीलाई चाहिँ गर्व छ।’

उनले कोशी प्रदेशसभामा प्रधानमन्त्रीले रोङ गाउँपालिकाले कृषिमा गरेको कार्यको प्रशंसाले पालिकालाई उत्साहित गरेको सुनाइन्।

‘अहिले पालिकालाई प्रदेश र सङ्घीय सरकारबाट आइरहेको कुल बजेटको आधा चाहिँ कृषिका लागि आओस् भन्ने माग गर्छु,’ उनले भनिन्, ‘किसानलाई सम्मान नगरी देश समृद्ध बन्दैन।’

उनले गुरु किसान घोषणालाई ‘आत्मनिर्भर कृषितर्फको ऐतिहासिक कदम’ भनेकी छिन्। उत्पादन र आधुनिक कृषि प्रणालीतर्फ अघि बढ्न स्थानीय तहले कृषि पेसालाई प्रेरित गर्नुपर्ने बताएकी उपाध्यक्ष खवासले कृषिलाई पनि सबल र सम्मानजनक पेसाका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताइन्।

‘समयानुकूल कृषि प्रविधिहरू अवलम्बन गर्दै उत्पादनलाई बढाउनु अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भनिन्, ‘परम्परागत कृषिबाट मात्र हाम्रो भविष्य सुरक्षित हुनेछैन। वैज्ञानिक प्रविधि, जैविक तथा व्यावसायिक खेतीका विधि अपनाउँदै उत्पादन बढाउनुपर्छ।’

किसान, सरोकारवाला र पालिकाका जनप्रतिनिधिको कुरा सुनेपछि मन्त्री अधिकारीले सङ्घीय सरकारले रोङको कृषि क्षेत्र विकासका लागि करिब तीन करोड रुपैयाँ छुट्याउने आश्वासन दिए।

उनले रोङले सङ्घीय सरकारलाई समेत उछिनेर कृषिमा उदाहरणीय काम गरिरहेको मन्त्री अधिकारीको भनाइ छ। प्रदेशका कृषिमन्त्री लिम्बूले पनि पालिकाले गरिरहेको उदाहरणीय काममा प्रदेश सरकारले सघाउने प्रतिबद्धता गरे।

प्रकाशित: ७ चैत्र २०८१ २३:२३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments