20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठप्रचण्डको दाबी : विश्वभरि चर्चा हुन थालेपछि नै सरकारबाट हटाइयो

प्रचण्डको दाबी : विश्वभरि चर्चा हुन थालेपछि नै सरकारबाट हटाइयो

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गरेका कामका कारण विश्वभरि बहस सुरु भएको र त्यही बेलामा आफूलाई सरकारबाट हटाइएको गुनासो गरेका छन्। शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्।
“अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको माओवादी केन्द्र र प्रचण्डको बारेमा एउटा ठुलो बहस विश्वभरि सुरु भएको थियो/भइराख्या छ,” दाहालले भने, “मैले तपाईँहरूको अगाडि कुनै अहङ्कार गर्न खोजेको होइन। यो यथार्थ हो, इतिहासले यसलाई मूल्याङ्कन गर्नेछ भन्ने मेरो विश्वास छ।”
दाहालले राम्रो काम गर्न खोज्दाखोज्दै आफ्नो सरकार ढालेको बताए। उनले भने, “यो देशका दलाल पुँजीपतिहरू जो रातारात करोडौँ र अरबौँ कमाउन पल्केका छन् त्यो वर्ग, त्यसका केही व्यक्तिहरूलाई सह्य भएन। त्यस्ता मान्छेलाई पनि सह्य भएन, जो भ्रष्टाचारबाट रातारात करोडौँ कुम्ल्याउने गरेका छन्, त्यस्ता कर्मचारीलाई पनि हाम्रा यी पहलहरू राम्रा लागेनन्।”
उनले थप गुनासो गर्दै भने, “अनि विश्वभरि माओवादीको नेतृत्वमा संसार भरि सकारात्मक काम भएको कुरा पनि बिचौलिया र नोकर साह दलालहरूलाई मन परेन।”
प्रचण्डले आफ्नाबारे अन्तर्राष्ट्रिय चर्चा हुन थालेपछि कांग्रेस र एमालेलाई मिलाइदिएको दाबी गरे। “यो हेर्दा त कांग्रेस र एमालेले मिलेर बनेको सरकार देखिन्छ। सदनभित्र गएर हेर्दा हो पनि,” उनले भने, “नकारात्मक काम उहाँहरूको बुद्धिले गरेको होइन। मैले त नजिकबाट देखेको छु। उहाँहरूलाई दलालहरूले आफ्नो घरमा बोलाएर खरिद गरे। बिचौलियाहरूले आफ्नो घरमा बोलाएर खरिद गरे। दलालहरूले आफ्नो होटेलमा मिटिङ बसाएर उनीहरूलाई मिलाइदिए।”
यसअघि पनि प्रचण्डले सरकार आफ्नै किचलोले ढल्ने बताउँदै सरकार “रुझेको बिरालो” जस्तो भएको टिप्पणी गरेका थिए। उनले आफू सरकार ढाल्न नलागेको बताउँदै बिचौलियाहरूले बनाएको सरकारमा समस्या रहेको उल्लेख गरेका थिए।
पाँचथरको सभामा उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य तथा प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो ‘मौसम’, प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोलगायतका नेताहरूको उपस्थिति थियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments