23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishनेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको अध्यक्षमा खतिवडा निर्वाचित

नेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको अध्यक्षमा खतिवडा निर्वाचित

नेपाल बुद्धिजीवी परिषदको बागमती प्रदेश अध्यक्षमा ठमिन्द्र खतिवडा निर्वाचित भएका छन्। काठमाडौँमा शनिबार सम्पन्न बागमती प्रदेशको दोस्रो अधिवेशनले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

परिषदको उपाध्यक्षमा गोविन्द्रप्रसाद चौंलागाईं, सचिवमा सञ्जय आचार्य, उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा तथा कोषाध्यक्षमा अञ्जु केसी चयन भएका छन्।

अधिवेशनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी परिषदको पार्टीसँगको सम्बन्ध ‘टु इन वान’ रहेको बताए। ‘तपाईंहरू पार्टीसँग नजिकबाट जोडिनुभएको छ,’ उनले भने, ‘साथै तपाईंहरू बौद्धिक समुदायलाई प्रतिनिधित्व पनि गर्नुहुन्छ,’ उनले भने, ‘पार्टीसँगको सम्बन्धको वकालत गर्दा पेसागत क्षमता र दक्षताको कुरा पछि पर्ने र पेसागत दक्षताको वकालत गर्दा पार्टीसँगको सम्बन्ध कमजोर हुने असन्तुलित स्थिति तपाईंहरूसामु छ। तर, यसलाई असन्तुलित हुने छुट तपाईंहरूलाई छैन। यसलाई थप परिष्कृत बनाएर लैजानुपर्छ।’

एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले परिषदले समाजलाई नेतृत्व गर्नसक्ने खालका गतिविधिहरू गर्नुपर्ने बताए। ‘राम्रा कामको तथ्यपरक र वस्तुपरक ढंगले राख्नसक्ने व्यक्ति अगाडि आउनुपर्छ,’ नेतृत्व चयनका सन्दर्भमा उनले भने।

- Advertisement -

बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले परिषदले बागमती प्रदेशमा कोरिरहेको समृद्धिको खाकालाई नयाँ आउने कमिटीले त्यसको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए। नयाँ विचार र नयाँ सोचका साथ कसरी अघि बढ्न सकिन्छ? भुइँमान्छेको अपेक्षा के हो? स्थानीय तह र तिनका वडाहरू के मा केन्द्रित हुनुपर्छ? लगायतका विषयमा परिषदको बागमती प्रदेशले काम गरिरहेको जानकारी उनले गराए।

त्यस्तै नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले राम्रो काम गर्दा पनि पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताए। कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष डा. लाक्पा सेर्पा, उपमहासचिव सुशील विकलगायत परिषदका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो।

प्रकाशित: १८ फाल्गुन २०८१ १०:४९ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments