काठमाडौं, पछिल्लो समयमा नेपालमा शासन व्यवस्था परिवर्तनको आवाज तीव्र रूपमा बढ्दै गएको छ। संविधान निर्माण भएको एक दशकमा पनि वर्तमान व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न नसकेको भन्दै शासन प्रणालीप्रति चौतर्फी असन्तुष्टि बढिरहेको छ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै देश दुर्घटनाको संघारमा पुगेको चेतावनी दिए। उनका अनुसार, काँग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर तत्काल समाजवाद घोषणा नगरे देशमा ठूलो राजनीतिक संकट आउनेछ। “संविधानले समाजवादतर्फ लैजाने भने पनि दलहरूले केही गर्न सकेनन्। अहिले जुनसुकै सार्वजनिक स्थानमा गए पनि व्यवस्था विरोधी आवाज सुनिन्छ,” गौतमले भने।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि देश ठूलो संकटतर्फ धकेलिएको स्वीकारेका छन्। “संरचनासहितको क्रमभंगता नगरे संकट रोक्न सकिँदैन। वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको बनेको छ,” श्रेष्ठले बताए।
माओवादी केन्द्रकै उपमहासचिव जनार्दन शर्माले संघीयताको कमजोर कार्यान्वयनलाई समस्याको मूल कारण बताए। “संविधान बनाउने र संघीयता ल्याउने नेताहरूकै कारण संकट बढेको छ। संघ सरकारले प्रदेश र स्थानीय तहप्रति विश्वास नगर्दा समस्या थपिएको छ,” शर्माले एक कार्यक्रममा भने।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नेताहरू पहिला आफै सच्चिनुपर्ने आवश्यकता औंल्याए। “नेताका छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गर्नुको कुनै अर्थ छैन। नेपालभन्दा कमजोर देशहरूले पनि विकास गरेका छन्, हामी पनि सक्छौं,” नेसपाका अध्यक्ष भट्टराईले बताए।

यता, सरकार भने विकास भइरहेको र जनता गणतन्त्रकै पक्षमा रहेको दाबी गरिरहेको छ। तर विपक्षी दलका नेताहरू यसमा सहमत देखिँदैनन्। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल भइसकेको भन्दै राजासहितको प्रजातन्त्रको वकालत गर्ने समूह पनि ध्रुवीकृत हुँदै गएको विश्लेषकहरू बताउँछन्।
आरडी क्रिएशन




