29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकामनपामा सुशासनको खाँचो

कामनपामा सुशासनको खाँचो



काठमाडौं महानगरपालिकाकाभित्र अनियमितताको चाङ बढेको छ ।

मेयर बालेन्द्र साहका सल्लाहकारहरुको अस्वाभाविक चलखेलका कारण अनियमितताको घटना बढ्न थालेको हो । विशेष गरी फोहोर, सुशासन, सवारीसाधन व्यवस्थापनलगायतका विषयमा दैनिकजसो अनियमितता हुने गरेको पाइन्छ ।

कामनपाको सवारीसाधनको चरम लापरबाही, नक्सापासमा देखिएको अनियमितता, भारतीय नागरिकलाई श्रमस्वीकृतिविनै रोजगारी, विषयगत समितिका ९ जना संयोजकलाई सवारीसाधनको सुविधालगायतका विषय गम्भीर देखिएका छन् । यस्ता घटनाका विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदासमेत सरकारले कारबाही गर्न सकेको छैन ।

मेयर साहले आफ्नो आदेश नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्ने घटना सामान्य भएको छ । कारबाही मात्रै होइन, उनको स्वकीय सचिवले कार्यकारी प्रमुखको कार्यकक्षमा ताला लगाउने, गाडीको साँचो खोस्न लगाउने गरेको घटना सार्वजनिक भएको छ । नक्सा स्वीकृत गर्दा अनलाइन प्रणाली देखाएर सेटिङमा काम हुने गरेको छ । नक्सा पास गर्न समस्या देखाएर छानबिन समिति बनाउने अनि प्रतिवेदन लुकाउने योजना दैनिक नै भएको छ ।

- Advertisement -

सिमितिको सिफारिस आफूले मात्र कार्यान्वयन गर्र्ने, अन्य कर्मचारीलाई हेर्न नदिई लुकाएर राख्ने गरेको देखिन्छ । तर सोही प्रतिवेदनको आधारमा नक्सापास प्रक्रिया अघि बढाएबापत कार्यकारीमाथि कारबाही गर्ने घटना सामान्य भइसकेको छ । त्यति मात्र होइन, मेयरले यसअघि कारबाही गरेका तीनजना प्रमुख प्रशासकीय अधिकृतलाई सरकारले कुनै कारबाही गरेको छैन । ती पमुख प्रशासकीय अधिकृतलाई कारबाही नभई राम्रो स्थानमा सरुवा गरेको पाइएको छ ।

हुन त मेयर साह एक्लैले सबै कारबाही गरेका होइनन् । सचिवालयका सदस्यले चुक्ली लगाएर मेयरलाई कारबाही गर्न प्रोत्साहन गरेका कारण केही कर्मचारी कारबाहीमा परेका छन् । तर कारबाहीमा परेका कर्मचारीको हालसम्म गल्ती पुष्टि हुन सकेको छैन । अनियमितताको चाङ हटाएर महानगरलाई सुधार गर्न छाडेर सचिवालयका सदस्यले उचालेपछि सोही आधारमा कारबाही गरेपछि मेयर आफैँ समस्यामा परेका छन् ।

अहिले त अधिकांश कर्मचारीले भन्ने गरेका छन्– कामनपाभित्र मेयर सचिवालयको आतंक बढेको छ । सबै विषयमा सचिवालयको हस्तक्षेपले गर्दा काम गर्ने कर्मचारी आजित भइसकेका छन् । काम गर्ने मनोबल खस्किएको छ । काम गर्ने वातावरण हराउन थालेको छ, कर्मचारी निराश भएका छन् । हुन त मेयर साहले सुशासनमा व्यापक सुधार गरेको बताउने गरेका छन् । सुधारको नाममा कार्यालय प्रमुखको कार्यकक्षमा सीसीटीभी जडान गरेका छन् । कसले के काम ग¥यो ? भनी स्वमूल्यांकन गर्ने गरेका छन् । तर आफ्नो सचिवालयका सदस्यले गरेको बदमासी हेरेर बसेका छन् ।

नक्सा पास गर्दा कन्सल्टेन्सी कम्पनीसँग सेटिङ मिलाउने, ठूला–ठूला होटल र भवनको नक्सा पास गर्ने प्रक्रिया अघि बढाउन सचिवालयका सदस्यले भनेका कन्सल्टेन्सी प्रयोग गर्ने, आफ्नो गुणगान गाउने कर्मचारीलाई अन्य कर्मचारीमाथि सुराकीको प्रयोग गर्न लगाउनेजस्ता नियम विपरीत कामको कारण कामनपामा सचिवालय आतंक फैलिएको छ ।

यसलाई नियन्त्रण गर्न सरकारी निकायले अनुगमन गर्नुपर्छ । गल्ती गर्ने सचिवालयका सदस्य तथा बिचौलियाको भूमिका खेल्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्छ । यसो भएपछि मात्र कामनपामा कुशासन अन्त्य भई सुशासन आउनेछ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments