काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताहरुलाई आकर्षित गरेर मात्रै देशको अर्थतन्त्रले लय समात्न सक्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको जनाए।
“तपाईंहरुको मनोबल नबढाइ र लगानीकर्ताहरुलाई आकर्षित नगरी, रोजगारी सिर्जना नगरी हाम्रो देशको अर्थतन्त्र अगाडि जान सक्दैन,” पौडेलले भने।
उनले वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र त्यहाँका समस्या समाधान गर्न गम्भीर रहेको बताए। अर्थमन्त्रीका अनुसार, सरकारले निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ र कानूनी व्यवधानहरू हटाउन अध्यादेशमार्फत विधेयक ल्याएर पहल गरेको छ।
“सरकार बने लगत्तै अर्थतन्त्रमा जुन किसिमको शिथिलताको स्थिति छ, यो शिथिलतालाई चिर्ने, बाहिर निस्किने र चलायमान बनाउने कसरी? भनेर छलफल गरेका थियौँ,” पौडेलले भने। “छलफलका क्रममा के महसुस गर्यौं भने हामीसँग केही यस्ता कानूनी व्यवधानहरु छन्, ती व्यवधान नपन्छाइ निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन।”
अर्थमन्त्री पौडेलले आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गरिने बताए। उनका अनुसार, बजेटबाट सम्बोधन गर्न सकिने विषयहरू बजेटका माध्यमबाट, कानूनी सुधार आवश्यक पर्ने विषयहरू कानून निर्माण वा संशोधनका माध्यमबाट, र कार्यकारी निर्णयबाट गर्न सकिने विषयहरू तदनुकूल निर्णय गरेर समाधान गरिने छ।
उनले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरे।




