बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई शान्तिको पक्षधर भन्दै प्रशंसा गरेका छन्। उनले मित्रराष्ट्रका नेताहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेनमा युद्धविरामका लागि दबाब कायम राख्न आग्रह पनि गरेका छन्।
शनिबार टेन डाउनिङ स्ट्रिटबाट भर्चुअल बैठकलाई सम्बोधन गर्दै स्टार्मरले पुटिन चाँडो वा ढिलो वार्ताको टेबलमा आउनैपर्ने बताए। “उनी टेबलमा आएर गम्भीर छलफलमा संलग्न हुनुपर्छ, तर हामी केवल बसेर त्यसको प्रतीक्षा गर्न सक्दैनौँ,” उनले भने, “यसको अर्थ युक्रेनलाई सैन्य र वित्तीय सहयोगमार्फत बलियो बनाउनु हो, ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून्।”
यो बैठकलाई इच्छुकहरूको गठबन्धन नाम दिइएको छ, जुन मार्च २ मा भएको पहिलो शिखर सम्मेलनको भौतिक बैठकभन्दा फरक छ। करिब २५ देशका नेताहरू, फ्रान्स, इटाली, युक्रेन, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, साथै नाटो र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ। अमेरिकाको भने प्रतिनिधित्व छैन।
बैठकमा युक्रेनलाई थप सहयोग कसरी प्रदान गर्न सकिन्छ र पुटिनले युद्धविराम समर्थन गरेमा भविष्यको शान्ति मिसनका लागि समर्थन जुटाउने विषयमा छलफल हुने अपेक्षा छ। यो बैठक अमेरिकी प्रस्तावित ३०-दिने युद्धविरामको पृष्ठभूमिमा भइरहेको छ, जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले समर्थन गरेका छन्।

स्टार्मरले भने, “राष्ट्रपति जेलेन्स्कीले आज फेरि प्रमाणित गरे कि युक्रेन शान्तिको पक्षमा छ। उनी ३०-दिने बिनाशर्त युद्धविरामका लागि प्रतिबद्ध छन्। तर पुटिन ढिलाइ गर्न खोजिरहेका छन्, जुन हाम्रो छलफलको केन्द्रबिन्दु हो।”
पुटिनले सिद्धान्ततः युद्धविरामप्रति समर्थनको सङ्केत दिए पनि सहमति अघि थप स्पष्टता खोजेका छन्। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी सकारात्मक सङ्केतहरू आएको भन्दै आशावाद व्यक्त गरे। “म युद्धविराम र सम्झौताका लागि रुसबाट राम्रा सङ्केतहरू देखिरहेको छु,” ट्रम्पले भने। यो भनाइ उनले आफ्ना प्रतिनिधि स्टिव विटकफसँग पुटिनको भेटपछि व्यक्त गरे।
ट्रम्पको पुनरागमनपछि अमेरिकाले युक्रेन नीतिमा परिवर्तन गरेको छ, जुन फेब्रुअरी २८ मा जेलेन्स्कीसँगको तनावपूर्ण भेटपछि स्पष्ट भएको थियो। यसले युरोपेली देशहरूलाई आफ्नो रक्षा खर्च बढाउन र युक्रेनलाई थप समर्थन गर्न प्रेरित गरेको छ।
स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर यो गठबन्धनको नेतृत्व गरेका छन्, आंशिक रूपमा ट्रम्पलाई युक्रेन समर्थनमा कायम राख्न मनाउन। एलिसी दरबारमा म्याक्रोन र उनका सहयोगीहरूले स्टार्मरको उद्घाटन सुनेका तस्बिरहरू सार्वजनिक भएका छन्।
रुसको आक्रमणको तीन वर्षपछि युक्रेन अग्रपङ्क्तिमा दबाबमा छ। रुसी सेनाले युद्धक्षेत्रमा प्रगति गरिरहँदा विश्लेषकहरू भन्छन्, पुटिन आफ्नो फाइदा देख्दा युद्धविराममा हतार नगर्न सक्छन्। “यदि पुटिन शान्तिमा गम्भीर छन् भने, उनले युक्रेनमाथिको आक्रमण रोकेर युद्धविराममा सहमत हुनुपर्छ,” स्टार्मरले भने, “विश्वले हेरिरहेको छ।” एपी
प्रकाशित: २ चैत्र २०८१ २०:२३ शनिबार




