परम्परादेखि नदी, खोलामा निर्भर माझी समुदायले आफ्नो प्राचीन तथा पुर्ख्यौली पेसाको पहिचान र संरक्षण गर्ने उद्देश्यले कोशी लदी (नदी) मा लाउ होडबाजी (नौका दौड प्रतियोगिता) आयोजना गर्ने भएका छन् ।
समुदायका युवाहरुले आफ्नो सबै भन्दा ठूलो पर्व लदी पूजाका अवसरमा डुङ्गा प्रतियोगितामा तँछाडमछाड गर्ने नेपाल माझी उत्थान सङ्घ वराहक्षेत्र नगर कार्यसमितिका अध्यक्ष गुमानसिंह माझीले जानकारी दिए । आज शनिबार सिसौलीघाटमा पत्रकार सम्मेलन गर्दै सङ्घले आगामी फागुन १७ गते शनिबार बराहक्षेत्र-७ र २ को सीमानामा रहेको सिसौली घाटमा लाउ दौड आयोजना गर्ने जानकारी दिएको छ । अध्यक्ष माझीका अनुसार प्रतियोगिताको संयोजन नगर खेलकुद विकास समिति वराहक्षेत्रले गर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक तथा बराहक्षेत्र-७ का वडाध्यक्ष कपिल आचार्यले माझी समुदायको पुर्ख्यौली पेसालाई व्यावसायिक रुपमा अघि बढाउन पहल गर्ने बताउनु भयो ।

माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा सदाझैं नौका दौड प्रतिस्पर्धा हुने भएको छ । गत वर्षदेखि सुरु गरिएको प्रतिस्पर्धाको यो दोस्रो पटक हो ।

लाउ होडबाजीका विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुल्ला होडबाजीमा दुई जनाको एउटा समूह हुनेछ । कम समयमा गन्तव्यमा पुग्ने प्रतिस्पर्धी विजेता हुनेछन् । यो पटक २५ बढी समूहले प्रतिस्पर्धा गर्ने आयोजकको विश्वास छ ।
गत वर्ष जीवन माझी र धितराज माझीको समूह विजेता भएको थियो । कोशी नदी किनारमा भव्य रुपमा आयोजना गर्न लागिएको कोशी पूजाको प्रवर्धन र प्रचारप्रसारका लागि लाउ दौड आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । प्रत्येक फागुन महिनाको तेस्रो मङ्गलबार पर्ने लदी पूजाका अवसरमा स्थानीय सरकारले बिदा दिंदै आएको छ । यसपाली फागुन २० गते लदी पूजा परेको छ । माझी उत्थान सङ्घले सार्वजनिक बिदाका लागि कोशी प्रदेश सरकारलाई समेत ज्ञापनपत्र बुझाएको जिल्ला अध्यक्ष घनश्याम माझीले जानकारी दिनुभयो ।
कोशी किनारमा सुनसरी मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका माझी समुदायले लदी पूजा धूमधाम मनाउने गरेका छन् । शक्ति स्वरुपेणी जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पन्चवली दिने परम्परा रहेको छ ।
नेपालमा रहेका विभिन्न जातजातिहरू मध्ये छुट्टै पहिचान र विषेशता बोकेको माझी जातिको प्रमुख चाड लदी(कोशी) पूजाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गर्न समुदायले माग गर्दै आएका छन् ।
माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझी समुदायको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।




