गुल्मी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध अभियान नचलाएसम्म देशमा सुशासन सम्भव नहुने बताएका छन्।
प्रेस सेन्टर नेपाल गुल्मीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान परिस्थितिमा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु र शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु आवश्यक रहेको बताए।
“नागरिकले राजनीतिक अधिकार प्राप्त गरे पनि जीवनस्तरमा परिवर्तन हुने गरी अझै परिवर्तन हुन सकेको छैन,” उनले भने।
श्रेष्ठले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने बताउँदै प्रतिगामी शक्तिहरूलाई चेतावनी दिए। उनले सुशासन र समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए।
“मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ, त्यही मिसन पूरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौँ,” श्रेष्ठले भने।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ तम्घासमा आजदेखि सुरु हुन लागेको वाइसिएल नेपाल गुल्मीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज बिहान गुल्मी पुगेका हुन्।




