20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishभूकम्पपछि जाजरकोटका स्थानीय त्रसित, सुरक्षित स्थानमा बस्न आग्रह

भूकम्पपछि जाजरकोटका स्थानीय त्रसित, सुरक्षित स्थानमा बस्न आग्रह

जाजरकोटमा भूकम्प गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। एक वर्षअघि आएको विनाशकारी भूकम्पको पीडा सेलाउन नपाउँदै शुक्रबार बेलुका गएको भूकम्पबाट स्थानीय बासिन्दाहरू त्रसित भएका हुन्।

जाजरकोटको कुशे गाउँपालिका–९ स्थित पैकलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बेलुका ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको पहिलो धक्का र ८ बजेर ११ मिनेटमा ५.५ म्याग्निच्युडको दोस्रो धक्का महसुस भएको थियो। कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्पको धक्कापछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा बसेको बताए।

उनका अनुसार स्थानीयहरू कोही खुला स्थानमा र कोही टहरामा बसेका छन्। ‘खास मानवीय क्षति केही छैन, २०८० कात्तिक १७ गते गएको भूकम्पमा चर्केका घरहरू अहिले धेरै चर्केका छन्,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘केही वडामा फोन डिस्टर्ब भएको छ, सम्पर्क हुन सकेको छैन, त्यहाँ प्रहरी चौकीहरूमार्फत कुरा भइरहेको छ, त्यस्तो मानवीय क्षति भएको छैन।’ गाउँपालिकाले सबैलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष बस्नेतले बताए।

उनले थपे, ‘स्थानीय बासिन्दाहरू अहिले एकदमै त्रासमा हुनुहुन्छ, घर बाहिर सुरक्षित स्थानमा बसिरहनु भएको छ, पुनः भूकम्प दोहोरिन सक्छ भनेर सुरक्षित स्थानमा बस्नु भएको छ।’ अहिलेसम्म भूकम्पका कारण घरहरू भत्केको जानकारी प्राप्त नभएको गाउँपालिका अध्यक्ष बस्नेतले सुनाए।

- Advertisement -

यसैबीच जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारी गर्दै भूकम्पबाट कतै क्षति भएको भए खबर गर्न आग्रह गरेको छ। प्रशासकीय अधिकृत समिर गौतमले एक सूचना जारी गर्दै शुक्रबार बेलुका ८ बजेर ७ र ८ बजेर ११ मिनेटमा गएको भूकम्पबाट कतै क्षति भएको भए विवरण संकलन गरी पठाउन र नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेका हुन्।

प्रकाशित: २२ चैत्र २०८१ २२:५२ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments