५९७ घरधुरी उपभोक्ता रहेको बराहक्षेत्र-२ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०८१/८२ सालको प्रगति प्रतिवेदन तथा अनुमानित आम्दानी खर्चको विवरण प्रस्तुत गरिएको छ ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टेकमाया पाण्डेले गत आर्थिक वर्ष २०८०/८१ मा विपन्न वर्गका उपभोक्ताको स्वास्थ्य बिमा, वृक्षरोपण, काठदाउरा वितरण, हात्ती नियन्त्रणको प्रयास, समूहको निर्माणाधीन भवनको ढलान, सडक ग्राभेल र खेलकुदका लागि सहयोग गरिएको उल्लेख गरिन् ।


अध्यक्ष पाण्डेले सभामा चालु आर्थिक वर्षमा समूहको स्वीकृत विधान एवम् कार्ययोजनामा उल्लेख भएको कार्यविवरण प्रस्तुत गरिन् ।
सभामा वन समूहका सचिव अमर कट्वालले आर्थिक वर्ष २०८१/८२ को अनुमानित आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरे । सचिव कट्वालले ५६ लाख ३८ हजार रुपैयाँको अनुमानित आय विवरण पेश गरे । यस्तै सचिव कट्वालले ४ लाख ६० हजार प्रशासनिक अनुमानित खर्च प्रस्तुत गरे भने वन समूहले गरिबी निवारण, विकास निर्माण, वन विकासमा खर्च गर्ने विवरण प्रस्तुत गरेको छ ।
बाँकी बक्यौता असुली मुख्य चुनौती
लेखा समितिले वन समूहका पूर्व पदाधिकारीबाट कानुनअनुसार असुलउपर गरिनु पर्ने रकम असुल गर्न बारम्बार सुझाव दिए पनि वन समूहले कार्यान्वयन गर्न सकेको छैन ।
विधानअनुसार थप दस्तुरसहित असुलउपर गर्नुपर्नेमा वन समूहले चालु आवमा १ लाख ५० हजार बाँकी बक्यौता असुली गर्नबाहेक उल्लेखीय काम गर्न सकेको छैन ।

पूर्व पदाधिकारीबाट असुलउपर गर्नुपर्ने ९ लाख बढी रकम उठाउन सकेको छैन । ०५८ सालदेखिको बक्यौता प्रत्येक वर्ष हिसाबमा देखिंदै आएको छ । लेखा समिति सदस्य लेखनाथ खतिवडाले आव २०८०/८१ को आम्दानी र बाँकी बक्यौता विवरण सभामा प्रस्तुत गरे । उनले आर्थिक वर्ष २०८०/८१ मा वन समूहले १६ लाख ९५ हजार ८ सय ६९ रुपैयाँ ९७ पैसा आम्दानी गरेको विवरण प्रस्तुत गरे ।
बाँकी बक्यौता उठाउन वन समूहलाई चुनौती रहेको उपभोक्ता बताउँछन् । रजिष्टर्ड लेखा परीक्षकले जिल्ला प्रशासन कार्यालय सुनसरी, बराहक्षेत्र नगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय धरान, डिभिजन वन कार्यालय इनरुवालाई बोधार्थ दिएको छ । नियामक निकायले बाँकी बक्यौताको चङ्गुलमा परेको वन समूहलाई मूक्त गराउन भूमिका निर्वाह गर्नुपर्ने उपभोक्ता बताउँछन् ।
साधारण सभाको औपचारिक उद्घाटन कोशी प्रदेशकी सांसद ममता तामाङ मगरले बिरुवामा पानी हालेर गरेकी थिइन् ।
विशिष्ट अतिथि बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले वन समूहले आर्थिक मितव्ययिता पालना गर्नुपर्ने सुझाव दिए ।
यस्तै अतिथिका रुपमा आमन्त्रित विभिन्न वन समूहका अध्यक्षहरुले वन संरक्षण र वृक्षरोपणको महत्वबारे विचार राखेका थिए ।
बराहक्षेत्र-२ स्थित तरी वन चारकोशे झाडीमा पर्ने उपभोक्ता समूहको आवादी र वन क्षेत्र गरी ४ सय ५ हेक्टर रहेको छ । १०७.२९ हेक्टर आवादी र २०२.७ हेक्टरमा वन रहेको छ ।




