19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपोखरा विमानस्थल घोटालाप्रति हर्क: ‘म भएको भए पाता कसेर उधेमुन्टो झुन्ड्याउँथेँ’

पोखरा विमानस्थल घोटालाप्रति हर्क: ‘म भएको भए पाता कसेर उधेमुन्टो झुन्ड्याउँथेँ’

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको १४ अर्ब रुपैयाँको भ्रष्टाचारप्रति आक्रोश व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्नेमा जोड दिए।

मेयर राईले धरानमा विमानस्थल बनाउने प्रस्ताव लैजाँदा महानिर्देशक अधिकारीले अनावश्यक बहस गरेको स्मरण गर्दै पोखरा विमानस्थलमा भ्रष्टाचार गरेको आरोप लगाए।

‘म ठाउँमा भएको भए पाता कसेर उधेमुन्टो झुन्डाइदिन्थे’ उनले भने ‘एक घण्टा झुन्डाएर, सिस्नो पानी लगाउनुपर्ने।’

- Advertisement -

उनले तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई निर्णय गर्न नसक्ने मन्त्री भन्दै त्यतिबेला धरानमा विमानस्थल बनाउन अनुमति दिएको भए निर्माण भइसक्ने टिप्पणी गरे।

संसदीय छानबिन उपसमितिको प्रतिवेदनले पोखरा विमानस्थल निर्माणमा ११ शीर्षकमा अनियमितता भएको देखाएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार सुरु भएको र नीतिगत निर्णयको आडमा चरणबद्ध रूपमा लुट भएको निष्कर्ष निकालेको छ।

उपसमितिका सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीका अनुसार निर्माणमा आर्थिक र प्राविधिक अनियमिततासहित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट र २ अर्ब २० करोड गैरकानुनी भुक्तानी भएको पाइएको छ।

पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कबाट २५ अर्ब ८८ करोड रुपैयाँ महँगो ब्याजमा ऋण लिइएको थियो।

२०७३ पुस २७ बाट सुरु भएको निर्माण २०७९ पुस १७ मा उद्घाटन भए पनि २७ महिनासम्म पूर्ण सञ्चालनमा आउन सकेको छैन।

उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिको आगामी बैठकमा पेस गर्ने तयारी छ।

प्रकाशित: ४ वैशाख २०८२ २१:२५ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments