26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishग्रीन हाइड्रोजनमा लगानी गर्न एनआरएनएको आग्रह

ग्रीन हाइड्रोजनमा लगानी गर्न एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्दै ग्रीन हाइड्रोजन क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ। माल्टामा आइतबार सम्पन्न १६औं युरोपेली सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गर्दै नेपालमा लगानीका अवसर पहिचान गर्न र प्रवर्द्धन गर्न आह्वान गरेको छ।

सम्मेलनले जलविद्युत्, होटल, सूचना प्रविधि, वन, कृषि, जडीबुटी तथा वैकल्पिक ऊर्जाका रूपमा ग्रीन हाइड्रोजन क्षेत्रमा गैरआवासीय नेपालीलाई लगानी गर्न प्रेरित गरेको छ। सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै कार्बन उत्सर्जन घटाउन नेपालले कार्बन बजारबाट फाइदा लिनुपर्नेमा जोड दिएको छ। यसका लागि आवश्यक नीति निर्माण गर्न र लगानी पहिचान गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ। 

“नेपालमा लगानीः एकता र समृद्धिका लागि साझेदारी” भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले गैरआवासीय नेपाली नागरिकता कानूनी रूपमा कार्यान्वयन गर्न र गैरआवासीय नेपालीसम्बन्धी ऐन यथाशीघ्र संशोधन गर्न अनुरोध गरेको छ। संविधानको धारा १४ मा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारसहितको नागरिकता प्रदान गर्न आवश्यक कानूनी प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ। 

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजनामा युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा आयोजित सम्मेलनमा माल्टाका राष्ट्रपति मिरियाम स्पिटेरी डबोनोले शुभकामना सन्देश पठाएका थिए। नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी, राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा युरोप र विश्वभरबाट २५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

- Advertisement -

युरोपमा रहेका युवा तथा दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको चुनौती र सम्भावना पहिचान गर्दै सम्मेलनले भाषा, संस्कृति र सामूहिकतालाई नेपालसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, कम्तीमा एउटा नेपाली भाषा विद्यालय सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। 

सम्मेलनले युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया, सर्बिया लगायतका मुलुकमा भइरहेको अवैध मानव ओसारपसार रोक्न नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न देशीय संयन्त्रहरूलाई जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता गरिएको छ। 

सम्मेलनमा लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित र मर्यादित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, गोर्खाजका मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ता, च्यारिटी र मानवीय सहायता, पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन जस्ता विविध विषयमा गहन छलफल भएको थियो। आर्थिक एकीकरण, नेपालमा लगानी अवसरको प्रवर्द्धन, युवा तथा आप्रवासीहरूको चुनौती र अवसरमा एनआरएनएको भूमिका तथा भावी रणनीतिक दृष्टिकोणबारे दिशानिर्देश गरिएको थियो। 

सम्मेलनले गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: १८ चैत्र २०८१ ०६:३१ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments