29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियखैरो सूची आत्तिने होइन कार्यान्वयनमा लाग्नु आवश्यक

खैरो सूची आत्तिने होइन कार्यान्वयनमा लाग्नु आवश्यक



फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को फ्रान्सको पेरिसमा शुक्रवार सम्पन्न बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा राखेको छ । नेपाल यसअघि पनि सन् २००८ देखि २०१४ सम्म उक्त सूचीमा परेको थियो । यसले बनाएका मापदण्डहरू नेपालले पालना गर्न नसक्दा र सचेत पार्दा पनि सुधार नगरेकाले खैरो सूचीमा परेको हो । सरकारले हचुवा पाराले काम गरेमा भोलिका दिनमा कालो सूचीमा पर्न पनि सकिन्छ तर खैरो सूचीमा पर्दैमा ठूलो समस्या भने आइहाल्ने देखिँदैन । त्यसैले नेपालले एफएटीएफले तय गरेका अनुपालनासम्बन्धी मापदण्डहरू पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । 

वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता भएको भन्दै नेपाललाई उक्त सूचीमा राखिएको बताइएको छ । एफएटीएफले विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्छ । विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । त्यसैले पेरिस बैठकबाट स्वीकृत एक्सन प्लानअनुसार प्रभावकारी रूपमा काम गर्न आवश्यक छ । 

- Advertisement -

अपराधबाट आर्जित सम्पत्ति र त्यसको ओसारपसार रोक्न जुन संरचना तयार भएको छ, त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या छ । निगरानी गर्नेहरूले संरचना बनाउने तर कार्यान्वयन नगर्ने हाम्रो प्रवृत्तिमा समस्या देखेका हुन् । नेपालले सम्पत्ति शुद्धीकरण रोक्न प्रभावकारी काम गर्न नसकेको निष्कर्षमा पुगी खैरो सूचीमा राखिसकेको अवस्थामा अब नेपाल गम्भीर बन्नैपर्छ । 

खैरो सूचीमा पर्दा अन्तरराष्ट्रियस्तरमा हुने कारोबारमा सोझो प्रभाव पर्छ । विदेशमा रहेका नेपालीले विप्रेषण पठाउने शुल्क बढ्न सक्छ । अन्तरराष्ट्रिय व्यापार प्रभावित हुनसक्छ । (लेटर अफ क्रेडिट) एलसी खोल्ने कुरामा अन्तरराष्ट्रियस्तरका कतिपय एजेन्सीले विश्वास नमान्न सक्छन् । हाम्रो अन्तरराष्ट्रिय व्यापार महँगो हुन सक्छ । अन्तरराष्ट्रिय मुद्राकोष, विश्व बैंक वा एशियाली विकास बैंकका मञ्चहरूमा नेपाली प्रतिनिधिले सामना गर्ने चुनौती थपिन सक्छन् । यसरी सहुलियतपूर्ण कर्जादेखि अरू व्यवहार र सहयोगका मञ्चमा पुग्दा हामी हिजोको जस्तो अडान लिन सक्दैनौं, आत्मविश्वास घट्छ । विभिन्न अन्तरराष्ट्रिय वार्ता, छलफल आदि मञ्चमा जाँदा नेपालको सौदाबाजीको शक्ति कमजोर हुन्छ । 

नेपालमा यसै पनि वैदेशिक लगानी घटिरहेको छ, जोखिमपूर्ण मुलुकको सूचीमा परेमा वैदेशिक लगानी अझै घट्न सक्छ । कतिपय लगानीकर्ता नेपाल आउनुअघि सबै विवरण हेर्न सक्दैनन् । निश्चित सूचकहरू हेरेर आफ्नो धारणा निर्माण गर्छन् । खैरो सूचीमा परेको देखेपछि हच्किने र लगानी नगर्ने निर्णय गर्ने अवस्था हुन्छ । नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि यी समस्या झनै थपिन सक्छन् । त्यसैले खैरो सूचीबाट निक्लन नेपालले कार्ययोजना लागू गर्न थालिहाल्नुपर्छ । 

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको जोखिमको बुझाइमा सुधार गर्ने, वाणिज्य बैंकहरू, उच्च जोखिम भएका सहकारी संस्थाहरू, क्यासिनो, बहुमूल्य धातु तथा रियल इस्टेट क्षेत्रमा कडा अनुगमन गर्न थालिहाल्नुपर्छ । त्यस्तै आर्थिक समावेशीकरणलाई बाधा नपुर्‍याई अवैध वित्तीय कारोबार तथा हुन्डी प्रदायकहरूको पहिचान गरी कारबाही थाल्नुपर्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायहरूसँगको समन्वयमा सुपरीवेक्षणमा क्षमता बढाउनुका साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा अभियोजनको संख्या वृद्धि गर्नुपर्छ । त्यस्तै जोखिमको प्रकृतिअनुसार आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान, निगरानी, जफत तथा रोकथाम गर्ने काममा तत्काल सक्रियता बढाउन आवश्यक छ । 

कानूनी सुधार भए पनि तिनको कार्यान्वयन पक्ष कमजोर देखिएकाले यसमा तत्काल सुधार गर्नुपर्छ । यसमा सत्तापक्ष र प्रतिपक्षले आरोपप्रत्यारोप लगाउनभन्दा खैरो सूचीबाट हट्ने काममा सहकार्य गर्न आवश्यक हुन्छ । तर, विगतमा पनि परेकै हो र सजिलै खैरो सूचीबाट हट्न सकिन्छ भनी हलुका रूपमा लिइयो र कार्यान्वयनमा आलटाले प्रवृत्ति लिइयो भने कालो सूचीमा पर्न सकिन्छ जुन निकै नराम्रो हुनेछ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments