25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकुन सेवामा बैंकहरूले कति लिन्छन् शुल्क ?          

कुन सेवामा बैंकहरूले कति लिन्छन् शुल्क ?          


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट कुन सेवा लिँदा शुल्क लाग्छ र कुन सेवा लिँदा लाग्दैन । यो कुरा थाहा पाएपछि मात्रै बैंकिङ कारोबार गर्नुपर्छ । राष्ट्र बैंकले बैंकहरुले दिने सेवामा लिन पाउने शुल्कबारे स्पस्ट व्यवस्था गरेको छ । बैंकहरुले सबै सेवामा शुल्क लिन पाउँदैनन् । तर केही यस्ता सेवा छन जसमा शुल्क लाग्छ । 

बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, चेकको स्टक पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, रेमिट्यान्स रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाउँदैनन् । तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन सक्छन् । यसबाहेक ग्राहकको निष्क्रिय खाता सक्रिय बनाउँदा, नेपाली मुद्रामा विद्युतीय कार्डहरु जारी गर्दा शुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । यी बाहेकका अवस्थामा ग्राहकसँग शुल्क लिनुपरेमा पूर्व जानकारी भने गराउनुपर्छ । 

कुन कारोबारमा कति शुल्क ?

- Advertisement -

१. कुनै एक बैंकको भुक्तानी कार्डबाट स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार बढीमा १५ रुपैयाँ शुल्क लाग्छ । 

२. भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा पाँच हजार रुपैयाँ सम्म ५ रुपैयाँ, पाँच हजार एक रुपैयाँ देखि १० हजार रुपैयाँसम्म आठ रुपैयाँ र १० हजार एक रुपैयाँभन्दा माथि १० रुपैयाँ शुल्क लाग्छ ।

३. एजेन्टमार्फत वालेटमा रकम लोड गर्न र झिक्न परेमा पाँच हजार रुपैयाँसम्म पाँच रुपैयाँ, पाँच हजार एक देखि १५ हजार रुपैयाँ सम्म १५ रुपैयाँ र १५ हजार एकदेखि २५ हजार रुपैयाँसम्म २५ रुपैयाँ शुल्क लाग्छ । 

४. वालेटबाट बैंकमा रकमान्तर गर्दा १० रुपैयाँ शुल्क लाग्छ । 

५. डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट, पस मेसिन वा क्यूआर कोडमार्फत गरेको कारोबार शुल्क लाग्दैन । 

६. मोबाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्नेछन् ।

ग्राहकसँग वित्तीय सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नपूर्व शुल्क, व्याजदर र शर्तहरु परिवर्तन हुँदा अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ । कर्जा प्रवाह गर्दा सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिबद्धता शुल्क बाहेक लिन पाइदैन । कर्जा स्वीकृति गर्दा अधिकतम शून्य दशमलव सात पाँच प्रतिशत सेवा शुल्क, एक प्रतिशत अग्रिम भुक्तानी शुल्क र एक दशमलव दुई पाँच प्रतिशत प्रतिबद्धता शुल्क लिन पाउने व्यवस्था छ । केही डिजिटल कारोबारमा लाग्ने सेवा शुल्क बैंक तथा वित्तीय संस्था अनुसार फरक हुन सक्छ । तर ती सेवामा लाग्ने शुल्क न्यून रहेको बैंकहरुको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:०१




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments