कठामाडौं । हालसम्म आठ बीमा कम्पनीले गत आव २०८०/८१ सम्म को मुनाफाबाट लाभांश घोषणा गरेका छन । ३ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका हुन । जीवन बीमातर्फ आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् भने निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
यी आठ कम्पनीहरुमध्ये तीन कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने बाँकी कम्पनीले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेका छन् ।
यी कम्पनीमध्ये दूई कम्पनीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराएर नगद लाभांश शेयरधनीको बैंक खातमा पठाइसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराई शेयरधनीको बैंक खातामा पठाएका हुन ।

सबैभन्दा बढी लाभांश सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले फागुन १५ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरिसकेको छ । फागुन १ गते सम्म कायम शेयरधनीले लाभांश पाउन योग्य भएका छन् ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९ दशमलव ७४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य हुनेछन् ।
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर सहित ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन १५ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १३ गते साधारण सभा बोलाएको छ । माघ २९ गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य छन् । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।




