19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियआइएमई पे र खल्तीबीच मर्जरमा जाने समझदारी

आइएमई पे र खल्तीबीच मर्जरमा जाने समझदारी



काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतवार समझदारी जुटेको हो । 

नेपालमै पहिलोपटक भएको वालेट मर्जरपश्चात् ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउने आइएमई पेकाका एक अधिकारीले जानकारी दिए । ‘मर्जरपछि वालेटको नाम ‘आइएमई खल्ती’ राख्ने निर्णय भएको छ, यस विषयमा विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछौं,’ ती अधिकारीले आर्थिक अभियानसँगको कुराकानीमा बताए । उनका अनुसार मर्जका लागि राष्ट्र बैंकमा आइतवार नै प्रस्ताव पठाइएको छ । ‘दुई कम्पनीबीच मर्जरबारे एमओयू भएसँगै आजै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएका छौं,’ उनले थपे । 

- Advertisement -

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्योट विनियमावली, २०७७ संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरू एकआपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले धेरै भुक्तानी प्रदायक वालेट कम्पनीभन्दा पनि गुणस्तरलाई दृष्टिगत गर्दै यस खालको मर्जर नीति ल्याइएको बताए ।

‘प्रक्रिया पूरा गरेर आउने वालेट कम्पनीहरुलाई मर्ज गरी कारोबार गर्न दिन राष्ट्र बैंक तयार छ,’ उनले भने, ‘स्वीकृतिका लागि निवेदन दिएको भए आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’

आइएमई ग्रूपको लगानी रहेको आइएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो । यस्तै खल्तीमा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवालसहित अन्य तीन जनाको लगानी रहेको छ । हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पेको चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।

तर, वित्तीय संरचना र शेयर स्वामित्वको बाँडफाँट भने अझै तय हुन बाँकी छ । खल्ती र आईएमई पेबीच एकीकृत कारोबार शुरू भएपछि ग्राहक संख्याका आधारमा देशकै ठूलो वालेट बन्ने आइएमई पेका अधिकारीले दाबी गरे ।

गूगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ । यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवाप्रदायकबीच अझै बलियो हुन सक्नेछ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments