26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपूर्वराजालाई मन्त्री गुरुङको चुनौती: राप्रपाबाट चुनाव लड्नुस्, राजाको सपना नदेख्नुस्

पूर्वराजालाई मन्त्री गुरुङको चुनौती: राप्रपाबाट चुनाव लड्नुस्, राजाको सपना नदेख्नुस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन मन छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बनेर चुनाव लड्न आह्वान गरेका छन्।

बुधबार साँझ नागरिक न्युजको ‘फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र जस्केलाबाट राजा बन्ने कल्पना एक प्रतिशत पनि नगर्न सुझाए।

मन्त्री गुरुङले नेपालको संविधान नै मूल कानुन भएको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्ध, मधेश आन्दोलन र सात दलको जनआन्दोलनको योगदान रहेको बताए।

“पूर्वराजालाई राजनीति गर्न इच्छा छ भने राप्रपाको अध्यक्ष भएर चुनाव लड्नुस्, संसदीय दलको नेता बनेर बहुमत ल्याउनुभयो भने प्रधानमन्त्री बन्ने बाटो खुला छ, हामी स्वागत गर्छौं,” उनले भने। तर, संविधानविपरीत गएर राजतन्त्र पुनर्स्थापना गर्ने प्रयासलाई राज्यले स्वीकार नगर्ने उनको चेतावनी छ।

- Advertisement -

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानको कसम खाएर पनि राजावादी गतिविधि गरेको भन्दै राज्यको उदारता कायम रहेको सुनाए।

“हामीले संविधानको धारा कोटाएर प्रतिबन्ध लगाउन सक्थ्यौं, तर गरेनौं। लोकतन्त्रमा यस्तो उदारता हुन्छ,” उनले भने।

चैत १५ मा दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनलाई लिएर पनि उनले संविधानमाथिको आक्रमणलाई राज्यविप्लवको संज्ञा दिए।

“संविधानले निषेध गरेको काम राजावादीहरूले गरिरहेका छन्। पहिले उदार भएर छोडियो, तर सधैं यस्तो हुँदैन,” उनले भने।

पूर्वराजा वा अन्य कसैले प्रतिक्रान्तिको प्रयास गरे पनि राज्यले संविधानको रक्षा गर्ने उनको जोड छ। “राजनीति बाङ्गोटिङ्गो बाटोबाट चल्छ, तर संविधानभन्दा माथि कोही छैन,” उनले थपे।

प्रकाशित: २७ चैत्र २०८१ २१:३५ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments