स्रष्टा साँझ अमेरिकाले लघुकथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ को परिचर्चा गरेकाे छ।
परिचर्चामा डा. शेखरकुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, इन्दिरा चापागाईं, दीपक लोहनी र मनीषकुमार शर्मा समित परिचर्चाकारकाे भूमिका निर्वाह गरेका थिए।
‘जूनको जात्रा’ को परिचर्चाकारहरूले कृतिका ६५ लघुकथामा सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक पक्षमाथि देखापरेका विकृतिकाे व्यङ्ग गर्नुको साथै बालमनोविज्ञान लगायत विविध विषयवस्तु समेटिएको बताए।
परिचर्चाकार इन्दिरा चापागाईंले लघुकथासङ्ग्रहमा नारी पात्रको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै लघुकथामा प्राकृतिक रूपले भरिपूर्ण नारीले अन्यायविरुद्ध आवाज उठाएका थुप्रै लघुकथा रहेको बताइन्। साथै उनले लघुकथामा समाजको प्रतिबिम्ब झल्किएको पनि बताइन्। लघुकथा शीर्षकहरू आकर्षक र आकस्मिक र कुतूहलपूर्ण हुनुका साथै समापन झट्कादार रहेकाले लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताइन्।

वरिष्ठ साहित्यकार तथा लघुकथाकार डा. कुसुमाकर शर्माले अम्बिका धितालको जूनको जात्रामा आफूले अनुभव गरेका भोगेका समाज, घरपरिवार शैक्षिक र राजनीतिक क्षेत्रका यावत कुरा लघुकथाले समेटेको उल्लेख गर्दै समापन खण्ड एक वाक्यमा राख्दा लघुकथा अझै सशक्त बन्ने बताए।
त्यस्तै अर्का परिचर्चाकार दीपक लोहनीले भाव र विचारले युक्त लघुकथा नै कालजयी हुने र जूनको जात्रा लघुकथा सङ्ग्रहमा धेरै लघुकथामा भाव र विचार सँगसँगै आएकाले आजको समयमा लघुकथा लेख्नेको भिडबाट अम्बिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।
जूनको जात्रामा विषय र आयाम प्रति सचेतता देखाइएको छ। विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु उनको लघुकथाको विशेषता भएको बताए।
भाव र विचारलाई सशक्त रूपमा आएको ‘जूनको जात्रा’ सङ्ग्रहनीय कृति भएकाले सबैले एकपटक पढ्नुपर्ने बताए।
अर्का परिचर्चाकार मनीषकुमार शर्मा ‘समित’ले लघुकथाकार शैक्षिक क्षेत्रमा कार्यरत रहेकाले सङ्ग्रहभित्रका धेरै लघुकथा शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिको पक्षमा व्यङ्ग्य गर्दै बालमनोविज्ञानमा आधारित भएको बताए। यथार्थपरक लघुकथा अब्बल रहेकाले लघुकथाकार अम्बिकाधितालको जूनको जात्राले विशिष्ट स्थान हासिल गरेको कुरा उनले बताए।
अन्तिम परिचर्चाकार डा. शेखरकुमार श्रेष्ठले जूनको जात्रा लघुकथामा विषयगत विविधता भएकाले उत्कृष्ट भएको चर्चा गर्दै आगामी दिनमा बिम्ब र प्रतीकका साथै सिद्धान्तलाई आधारित बनाएर कथा लेखनमा लाग्न हौसला दिए। कतिपय लघुकथा लेख्दै जाँदा लघुकथा नभएर छोटा कथा बन्ने कुरामा सचेत गराए। उनले वर्तमानमा लघुकथाकारहरूको भिडमा जूनको जात्रा पहिलो लघुकथासङ्ग्रह प्रकाशित गरेकी लघुकथाकार अम्बिका धिताल आशालाग्दो प्रतिभा भएको कुरा प्रकट गरे।
कार्यक्रममा खेमराज पोखरेल तथा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोले अमेरिकाबाट र खगेन्द्र बस्यालले नेपालबाट कृतिकारलाई कृति सफलताको शुभकामना दिएका थिए।
लाेकप्रिय लघुकथाकारद्वय अमेरिका निवासी विश्वराज अधिकारी र क्यानडा निवासी डा. कुसुमाकर शर्मा गौतमले भर्चुअल परिचर्चा कार्यक्रमको सहजीकरण गरेका थिए।
कृतिकार अम्बिका धितालले आफूले विचार तथा भाव प्रधान लघुकथा लेख्ने गरेको बताइन्। उनले समाजलाई जूनको प्रतीकका रूपमा मानेको र समाजमा विकृति,विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचार जात्राका रूपमा भित्रिँदा समाज बिथोलिएकाले जूनले जसरी शीतलता दिन्छ त्यसरी नै समाजका यावत विकृति र विसङ्गति हटाउँदै शीतलता प्रदान गर्नका लागि तथा समाज सुधारमा सघाउ पुर्याउन खातिर लेख्ने गरेको बताइन्।
परिचर्चा कार्यक्रममा अमेरिकाबाट नवराज शर्मा र नेपालबाट श्याम श्रेष्ठ, मनोहर पोखरेल, रन्जु खनाल, मिसु श्रेष्ठ थपलिया, ध्रुवराज थापा, गङ्गा बस्नेत, रचना शर्मा, वन्दना घिमिरे, राजु क्षेत्री अपुरो, कल्याण पन्त, मनोहर पोखरेल, रोशन पराजुली, अन्जु शर्मा लगायतकाे उपस्थित रहेकाे थियाे।
प्रकाशित: ६ चैत्र २०८१ १२:५२ बुधबार




