25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकाठमाडौं उत्सव: कलाको रंग, साहित्यको स्वाद

काठमाडौं उत्सव: कलाको रंग, साहित्यको स्वाद

काठमाडौंमा अर्को नयाँ साहित्यिक उत्सव थपिएको छ। राजधानीमा फागुन १६ र १७ गते नेपाल पर्यटन बोर्डको हलमा पहिलो संस्करणको ‘काठमाडौं उत्सव’ हुन लागेको हो।

साहित्य विशेष भए पनि यस महोत्सवमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना तथा आममान्छेका जीवनका कथालाई समेत समेटिएको आयोजकले बताएका छन्।

काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरका अनुसार दुई दिनसम्म चल्ने महोत्सवमा १५ वटा सत्र सञ्चालन हुनेछन्।

उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीको कवितावाचनबाट हुनेछ। त्यसपछिका कार्यक्रमहरू काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्नेछन्।

- Advertisement -

महोत्सवको प्रमुख आकर्षण लोकप्रिय गायिका शान्तिश्री परियारको संघर्ष र सफलताको कथा रहनेछ। उनले कवि दीप दर्पणसँग ‘साधना र सफलता’ विषयमा अन्तर्संवाद गर्नेछिन्। यस्तै, पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच ‘अक्षरका आयामहरू’ शीर्षकमा विशेष कुराकानी हुनेछ।

पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरुण गुप्त, नानी हेरा शाक्य र रवीन्द्र पुरीले ‘सम्पदा, संस्कृति र सभ्यता’ विषयमा छलफल गर्नेछन्। ज्ञान, विवेक र विज्ञानबारे विमल आचार्यले सञ्चालन गर्ने सत्र पनि पहिलो दिनकै आकर्षण हुनेछ।

कलेजका विद्यार्थीहरूसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा बुकाहोलिक्सकी संस्थापक सगुना शाहले भलाकुसारी गर्नेछिन्।

आममान्छेका अनुभवलाई समेत प्राथमिकता दिइएको महोत्सवमा ‘भुइँका कुरा’ नामक सत्र राखिएको छ, जसमा दशकौंदेखि मकै पोलेर, चिया पकाएर गुजारा गरिरहेका आममान्छेका कथा सुनाइनेछ। लेखक विना थिङले यो सत्रको सहजीकरण गर्नेछिन्।

दोस्रो दिन अनेसासका अध्यक्ष होमनाथ सुवेदीले ‘नेपाली साहित्यमा डायस्पोराको अवस्था’ विषयमा प्रवचन दिनेछन्। चलचित्र निर्देशनमा नयाँ पुस्ताको अनुभव निर्देशकत्रय सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले लेखक प्रभाकर गौतमसँग साट्नेछन्।

यस्तै, ‘फाइन आर्ट्स’ विषयमा कलाकार एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझाबीच छलफल हुनेछ, जसलाई कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्नेछन्।

‘आख्यानमा द्वन्द्व र दर्शन’ शीर्षकमा ओम रिजाल, अमला अधिकारी र शैलेन्द्र अधिकारीबीच छलफल हुनेछ, जसलाई आख्यानकार उमा सुबेदीले सहजीकरण गर्नेछिन्।

काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीका अनुसार महोत्सवमा ‘आशा र युवा’, ‘पर्यटनमा पहल’ जस्ता विषयमा पनि छलफल गरिनेछ। यसका साथै, संवाद, कविता तथा गजल प्रस्तुतिसहित काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत रहनेछन्।

पाका कविहरूका कविताबाट सुरु हुने महोत्सव नयाँ पुस्ताका कवितासँग समापन हुनेछ। काठमाडौंको संस्कृति, सम्पदा र सभ्यताको क्षयीकरण भइरहेको वर्तमान सन्दर्भमा यो महोत्सवले यहाँका भाषा, इतिहास र संस्कृतिलाई जोड्न योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ।

प्रकाशित: १५ फाल्गुन २०८१ २२:५७ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments