26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishदलित संघर्ष समितिको संयोजकमा दलजित श्रीपाइली

दलित संघर्ष समितिको संयोजकमा दलजित श्रीपाइली

दलित संघर्ष समितिको नयाँ संयोजकमा नेपाल मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली चयन भएका छन्।

बुधवार ११ राजनीतिक दलका दलित संगठनहरूको संयुक्त संघर्ष समितिको बैठकले उनलाई संयोजकको जिम्मेवारी दिएको हो।

यसअघि संयोजक रहेका नेपाल दलित संघका लोकबहादुर विश्वकर्माको कार्यकाल समाप्त भएपछि श्रीपाइलीलाई नेतृत्व हस्तान्तरण गरिएको हो।

बैठकले विश्वकर्माको १७ महिने कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै, दलित आन्दोलनका सवालमा प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ।

- Advertisement -

संयोजकको जिम्मेवारी पाएको भोलिपल्ट श्रीपाइलीले दलित मुक्ति आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै संघर्ष समितिले तोकेको कार्यभार पूरा गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको सुनाए।

बैठकले सचिवालय गठन गर्दै विभिन्न दलित नेताहरूलाई समेटेको छ। जसमा मन्जित ताम्राकार, पदम विश्वकर्मा, श्याम सुनार, शंकर सुनार, शोभा सेन्चुरी, टेक घतानी र सविन नेपाली रहेका छन्।

बैठकले कार्यदलले दिएको सुझावका आधारमा आवश्यक छलफल गरी आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरेको छ।

संयुक्त संघर्ष समितिले अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५) का अवसरमा दलित महिला आन्दोलनका राजनीतिक मुद्दाबारे अन्तरक्रिया गर्ने, फागुन २९ गते दलित आन्दोलनको समिक्षासहित राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (चैत्र ८) लाई विशेष संघर्ष कार्यक्रमसहित मनाउने र प्रस्तावित निर्वाचनलाई दलितमैत्री बनाउन विभिन्न दलहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

बैठकले दलित समुदायमाथि भइरहेका श्रृंखलाबद्ध छुवाछूत, विभेद, अपमान, हत्या, बलात्कार, बहिष्कार तथा अपशब्द प्रयोगका घटनाहरूको कडा विरोध गरेको छ।

यस्ता घटनाहरू तुरुन्त रोक्न, पीडितलाई न्याय दिन र दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

बैठकले सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको वैधानिक विवाहविरुद्ध राज्यसंरक्षित ज्यादती भएको भन्दै विरोध जनाएको छ।

प्रहरी प्रशासन र गृहमन्त्रीको संलग्नताबारे सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै, दोषीमाथि संसदीय छानबिन समिति गठन गर्न र पीडित जोडीलाई न्याय तथा संरक्षण दिन माग गरिएको छ।

त्यसैगरी, सिराहाकी रिंकु कुमारी सदायको बलात्कारपछि हत्या, म्याग्दीकी मिना परियारको हत्या तथा प्रेम विवाहकै कारण मारिएका काभ्रेका अजित मिजारको शव शिक्षण अस्पतालमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको घटनाप्रति बैठकले आपत्ति जनाएको छ।

अजित मिजारको शव दाहसंस्कारका लागि पीडित परिवारसँग समन्वय गर्दै उचित न्याय सुनिश्चित गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको छ।

प्रकाशित: १४ फाल्गुन २०८१ २२:२१ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments