स्वर्णिम साहित्य समाज वराहक्षेत्रको आयोजनामा जारी स्कुलमा कविता सिजन-२ अन्तर्गत अडिसनमार्फत छनोट भएका उत्कृष्ट-१० प्रतिस्पर्धीहरुको सिर्जनात्मक प्रवर्द्धनका लागि कविता कार्यशाला आयोजना गरिएको छ ।
कार्यशालामा कविताभित्रको कला, दृष्टिकोण र आयामका बारेमा विद्यार्थीलाई सहजीकरण गरिएको छ । कवि देवान किरातीले कविता लेखन र सिलसिलाका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो ।

अडिसन मार्फत छनोट भएका वराहक्षेत्रभरिका उत्कृष्ट विद्यार्थीहरुमा कालाबन्जरस्थित जडेज माविबाट सबिना बानिया, भरौल बाल मन्दिरबाट युविशा श्रेष्ठ, हिमालयन इङ्लिस स्कुलबाट अङ्किता थापा, राधाकृष्ण सस्कृत वेद विद्या आश्रमबाट हरिप्रसाद पराजुली, सुनसरी स्टार एकेडेमीबाट युनिसा देउजा, महेन्द्र मावि चक्रघट्टीबाट रिजन बिक, राजाबास सेकेन्डरी बोर्डिङ स्कुलबाट एडिना रायमाझी, जयसप्तकोसी इङ्लिस स्कुलबाट सुवास कार्की, मोहन माविबाट विद्या साह र प्रकृति यादव सहभागी छन् ।

कवि देवान किराँती, रङ्गकर्मी सोनु जयन्ती र रङ्गकर्मी तथा कवि प्रज्ज्वल पराजुलीले कार्यशालाको सहजीकरण गरिरहनु भएको छ ।
माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबाट छनोट भएका उत्कृष्ट प्रतियोगीहरुको कविता लेखनमा वृत्तिविकास होस् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको ग्राण्ड फिनाले फागुन २४ गते शनिबार भरौल-५ स्थित वडा कार्यालयको सभाहलमा आयोजना हुनेछ ।




